कांग्रेस विभाजनबारे ओली : कसैले सडकमा बहुमत पुर्याएँ भनेका भरमा हुन्छ ?
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस विभाजनतर्फ उन्मुख हुनु मुलुकको लोकतन्त्रका लागि गम्भीर चिन्ताको विषय भएको बताएका छन् । पार्टीको विधान, विधि र संस्थागत प्रक्रियालाई बेवास्ता गर्दै सडकको भीडलाई बहुमत ठान्ने प्रवृत्तिले लोकतन्त्र नै संकटमा पर्ने उनको चेतावनी थियो ।
आज (शुक्रबार) काठमाडौंमा आयोजित एमालेको राजधानी प्रदेश कमिटी घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विशेष महाधिवेशनको नाममा पार्टी विधान लत्याउने र सडकबाट बहुमत प्रमाणित गर्न खोज्ने अभ्यासले समाजलाई अराजकतर्फ लैजाने षड्यन्त्र भइरहेको आरोप लगाए । ‘बैठक कसले बोलाउने, महाधिवेशन कसले बोलाउने भन्ने थिति हुन्छ। बहुमत–अल्पमत टुंग्याउने विधि हुन्छ’, उनले भने, ‘कसैले सडकमा बहुमत पुगेको छ भनिदिँदैमा बहुमत पुग्छ ?’
कांग्रेस विभाजनको अवस्थामा पुग्नु आफूलाई आश्चर्य र पीडादायी लागेको उल्लेख गर्दै ओलीले लोकतन्त्र, संविधान र कानूनी शासन मिचिएको वर्तमान अवस्थामा कांग्रेस जस्तो पार्टीले आन्तरिक झगडामा अल्झिनु दुर्भाग्यपूर्ण भएको बताए । ‘लोकतन्त्रका लागि लड्नुपर्ने बेला पार्टी फुटाउने स्थितिमा कांग्रेस पुगेको छ’, उनले प्रश्न गरे, ‘यो कांग्रेसका नेता–कार्यकर्ताका लागि चिन्ताको विषय होइन र ?’ अध्यक्ष ओलीले एमालेभित्र पनि सानातिना असन्तुष्टि थाती राखेर एकताबद्ध हुन कार्यकर्तालाई आग्रह गरे । ‘अहिले असन्तुष्टि संकलन गरेर चाङ लगाएर हिँड्ने बेला होइन’, उनले भने, ‘देश, जनता, लोकतन्त्र, शान्ति र सुशासनका लागि दिल खोलेर लड्ने बेला हो ।’
सामाजिक सञ्जालमा आक्रामक हुन निर्देशन
कार्यक्रममै अध्यक्ष ओलीले आगामी निर्वाचनलाई लक्षित गर्दै एमाले कार्यकर्तालाई सामाजिक सञ्जालमा सक्रिय हुन विशेष निर्देशन दिएका छन् । ‘अबको लडाइँ सामाजिक सञ्जालबाट पनि लड्नुपर्छ’, उनले भने, ‘दिनमा कम्तिमा १० वटा मेसेज गर्नुस्, १० वटा स्टाटस लेख्नुस् । राम्रो कामको प्रशंसा गर्नुस्, लाइक थिच्न कञ्जुस्याइँ नगर्नुस् ।’ अहिले विश्राम गर्ने समय नभएको उल्लेख गर्दै उनले ‘४० कटेपछि रमाऔंला’ गीतको उदाहरण दिए ।
‘अहिले थकाइ मार्ने बेला होइन, चुनावपछि थकाइ मारौंला’, उनले भने । आगामी प्रतिनिधिसभा निर्वाचन जुनसुकै महिनामा भए पनि एमालेले ‘स्विप आउट’ गर्ने दाबी गर्दै उनले सानो अन्तरले होइन, ठूलो मतान्तरले जित्नुपर्नेमा जोड दिए ।एमाले नै देशको सबैभन्दा सशक्त, संगठित र एकीकृत पार्टी भएको दाबी गर्दै ओलीले भने, ‘वडा–टोलसम्म संगठन भएको पार्टी अरू कसैको छैन । उम्मेदवार खोज्न हात उठाउनु पर्ने अवस्था अरूको छ ।’ आगामी चुनावपछि एमाले प्रमुख दल बन्ने उनको विश्वास थियो ।
