सर्वोच्चको निर्णय स्वीकार्य हुनेछ, रूख चिह्न बाहेक अन्यथा कल्पना गर्न सकिन्न : खड्का
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजन, नयाँ दल दर्ता वा स्वतन्त्र उम्मेदवारीको कुनै विकल्प आफूहरूको एजेण्डामा नरहेको स्पष्ट पारेका छन् । निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको टुंगो अदालतले लगाउने र त्यसलाई आफूहरूले पूर्ण रूपमा स्वीकार गर्ने खड्काको भनाइ छ ।
आइतबार सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै खड्काले कांग्रेसको पहिचानका रूपमा रहेको रूख चुनाव चिह्नबाहेक अन्य कुनै विकल्प कल्पनै गर्न नसकिने बताएका छन् । उनले पछिल्लो समय चलाइएका ‘नयाँ पार्टी खोल्ने’ वा ‘स्वतन्त्र उम्मेदवारी दिने’ जस्ता हल्लाप्रति पार्टी पंक्तिलाई सचेत रहन आग्रह समेत गरेका छन् ।
खड्काका अनुसार विवादको समाधान संस्थागत र कानुनी प्रक्रियाबाटै हुनुपर्छ । ‘निर्वाचन आयोगको निर्णयविरुद्ध हामी सर्वोच्च अदालत गएका छौं । अदालतले जे फैसला गर्छ, त्यसैलाई हामी स्वीकार गर्छौं’, उनले लेखेका छन् । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उत्पन्न विवाद चुलिएको हो ।
उक्त निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरू आइतबार सर्वोच्च अदालत पुगेका थिए । खड्काले आन्तरिक असहमति भए पनि कांग्रेसको ऐतिहासिक चिन्ह र संस्थागत निरन्तरतामाथि कुनै सम्झौता नहुने संकेत दिएका छन् । पार्टीभित्रका सबै पक्षलाई संयम र एकतामा रहन आग्रह गर्दै उनले कानुनी निकास नै स्थायी समाधान हुने धारणा दोहोर्याएका छन् ।
पार्टीका सबै अादर्णिय साथीहरु
सबैमा जयनेपाल 🙏💐
निर्बाचन अायाेगकाे निर्णयका बिरुद्धमा पार्टीको अाधिकारिकताकाे बैधानिक दाबि र कानुनि उपचारकाे लागि २०८२ माघ ३गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेकाे केन्द्रीय कार्यसमितिकाे बैठककाे सर्बसम्मत निर्णय अनुसार सबैकाे… pic.twitter.com/k8FlCHyUt3— Purna Bahadur Khadka (@NCPurnaKhadka) January 18, 2026
