पुराना दिग्गजसँग भिड्दै नयाँ शैलीमा सागर ढकाल, २,६२५ रुपैयाँको बिलको ‘चर्चा’
गुल्मी । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा गुल्मी जिल्लाको राजनीतिक माहोल तातेको छ । यही माहोलबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गुल्मी क्षेत्र नम्बर–१ का उम्मेदवार सागर ढकाल आफ्नो फरक प्रचारशैली र खर्चको पारदर्शिताका कारण चर्चाको केन्द्रमा आएका छन् ।
आफ्नो निर्वाचन क्षेत्रमा सीमित रहने परम्परागत अभ्यासलाई तोड्दै ढकाल छिमेकी निर्वाचन क्षेत्र नम्बर २ मा पुगेर घरदैलो अभियानमा सक्रिय देखिएका छन् । उनले क्षेत्र नम्बर–२ का रास्वपा उम्मेदवार गोविन्द पन्थीसँगै मतदाताको घर–आँगनमा पुगेर मत मागिरहेका छन् । दुई उम्मेदवारबीचको संयुक्त प्रचारलाई स्थानीय स्तरमा दलगत सहकार्यको नयाँ अभ्यासका रूपमा हेरिएको छ । गुल्मीका दुवै क्षेत्रमा यस पटक पुराना, प्रभावशाली र स्थापित नेताहरू र नयाँ पुस्ताका उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । क्षेत्र नम्बर–१ मा ढकालले नेकपा एमालेका प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी र नेकपाका सुदर्शन बरालजस्ता चर्चित नेतासँग प्रतिस्पर्धा गरिरहेका छन् ।
त्यसैगरी क्षेत्र नम्बर–२ मा गोविन्द पन्थीको प्रतिष्पर्धा एमालेका गोकर्ण विष्ट, कांग्रेसका भुवनप्रसाद श्रेष्ठ र नेकपाका श्रीराम महतसँग छ । दशकौँदेखि गुल्मीको राजनीतिमा प्रभाव जमाउँदै आएका यी नेताहरूमाथि नयाँ उम्मेदवारले कत्तिको चुनौती दिन सक्छन् भन्ने चासो सर्वसाधारणमा बढ्दै गएको छ । चुनावी तडकभडक, खर्चिलो प्रचार र शक्ति प्रदर्शनको संस्कृतिलाई चुनौती दिँदै ढकालले आफ्नो चुनावी खर्च सार्वजनिक गर्न थालेका छन् ।

उनले हालै गुल्मीको मालिका गाउँपालिकास्थित सिमलटारीमा बास बस्दा भएको खर्चको विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे । ढकालका अनुसार आफू र गोविन्द पन्थीसहित ६ जनाको टोलीले एक रात होटलमा बसेर जम्मा २ हजार ६ सय २५ रुपैयाँ मात्र खर्च गरेको हो । ढकालले सार्वजनिक गरेको बिलअनुसार ६ जनाले प्रतिव्यक्ति २०० रुपैयाँ दरको शाकाहारी खाना खाँदा १ हजार २०० रुपैयाँ खर्च भएको छ । त्यस्तै, ४ सय रुपैयाँ दरका ३ वटा कोठाका लागि पनि १ हजार २०० रुपैयाँ तिरिएको छ । चिया र खाजामा २२५ रुपैयाँ खर्च भएको उनले जानकारी दिएका छन् ।
ढकालले आफ्नो चुनावी अभियानमा माछा–मासु, रक्सी नखाने र मतदातालाई तेल नबाँड्ने घोषणा पनि गरेका छन् । बोलेरो गाडी भाडामा लिएर हिँड्दा दैनिक ३–४ हजार रुपैयाँ खर्च हुने भए पनि कसैलाई व्यक्तिगत लाभ नदिइएको उनको भनाइ छ । उनले देशभरका रास्वपा उम्मेदवारलाई सादगीपूर्ण अभियान चलाउन आग्रह गर्दै भनेका छन्, ‘माछा–मासु, रक्सी र तेल वितरण नगरी पनि चुनाव जित्न सकिन्छ ।’ अभियानको क्रममा ढकालले समयपालनामा कडाइ गरेको प्रसंग पनि बाहिरिएको छ ।
निर्धारित समयभन्दा चार मिनेट ढिला भएको भन्दै उनले उम्मेदवार पन्थीलाई चार पटक उठबस गराएको बताएका छन् । पन्थीले पनि उक्त कुरा स्वीकार गरेका छन् । पन्थी पूर्व डीएसपी तथा अधिवक्ता हुन् । ढकालले यसपटक गुल्मीमा रास्वपाले उल्लेखनीय सफलता हासिल गर्ने दाबी गर्दै जिल्लालाई झापा र चितवनसँग तुलना गरेका छन् । सादगी, पारदर्शिता र संयुक्त अभियानको अभ्यासले मतदातामा कस्तो प्रभाव पार्ला भन्ने प्रश्नसँगै गुल्मीको चुनावी राजनीति थप रोचक बन्दै गएको छ ।
