`

उम्मेदवारी फिर्ता लिन आशिका तामाङको निवेदन

Nepal One HD ९ माघ २०८२ १३:४६
निर्वाचन विषेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की धादिङ क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतसमक्ष निवेदन गरेकी छन् । शुक्रबार दिउँसो उनले इमेल र फोनमार्फत आफ्नो निर्णयको जानकारी दिएको निर्वाचन अधिकृत एकराज अधिकारीले बताए ।

निर्वाचन अधिकृत अधिकारीले भने, ‘उहाँले फोन र इमेल दुबैमार्फत उम्मेदवारी फिर्ता लिने सूचना दिएकी छन् । हामीले यो सूचना प्राप्त गरेका छौं, तर आधिकारिक निर्णय भने अझै प्रक्रिया क्रममा छ ।’ अधिकृतका अनुसार, आशिका तामाङ आफैं कार्यालयमा उपस्थित भएर सनाखत गराउने तयारीमा छन् । प्रतिनिधि सभा निर्वाचन ऐनको अनुसूची २२ अनुसार उम्मेदवारी फिर्ता गर्ने प्रक्रिया पूरा गर्न उनले फारम भरेर इमेल समेत पठाएकी छन् ।

उनी इमेलमा लेख्छिन्, ‘उम्मेदवारको नाममा मेरो पनि नाम समावेश भएकाले उक्त निर्वाचनमा उम्मेदवार हुन हाल इच्छा नभएको हुँदा, राजीखुसी प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा २५ (१) बमोजिम आफ्नो नाम फिर्ता गर्ने सूचना गर्दछु ।’

आशिका तामाङले यस विषयमा छलफल भइरहेको र साँझ २ बजेतिर निर्णय स्पष्ट हुने जानकारी दिइन् । यसअघि उनका जर्मन स्थायी आवसीय अनुमति पत्रको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विवाद उत्पन्न भएको थियो । यस विषयमा उनले स्पष्ट पारेकी छन् कि, ‘त्यस कारणले मैले उम्मेदवारी फिर्ता लिन लागेको होइन ।’ अधिकारिक प्रक्रिया अनुसार, उम्मेदवारी फिर्ता गर्ने फाइनल निर्णय निर्वाचन अधिकृतले फारमको प्राप्ति र सनाखत पश्चात मात्र मान्यता दिनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *