`

बारामा आमा–छोरा हत्या प्रकरण : बुहारी पक्राउ, दुबईबाट फर्केका युवकको देखियो संलग्नता

Nepal One HD १४ माघ २०८२ १५:०७
अपराध

बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा एकै परिवारका आमा र छोराको निर्मम हत्या भएको घटनाले सिंगो गाउँ स्तब्ध बनेको छ । बुधबार राति धारिलो हतियार प्रयोग गरी ५२ वर्षीया सुमित्रादेवी मण्डल र उनका छोरा रामेश्वर मण्डलको हत्या गरिएको हो । घटनामा मृतकका श्रीमान्, छोरी र बुहारी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार बिहान करिब २ बजेतिर अज्ञात व्यक्तिले घरभित्र प्रवेश गरी अन्धाधुन्ध धारिलो हतियार प्रहार गरेका थिए । सुमित्रादेवीको शव घर बाहिर शौचालय नजिक फेला परेको थियो भने रामेश्वर मण्डलको शव घरको प्यासेजमा भेटिएको प्रहरीले जनाएको छ । घटनाका क्रममा मृतक सुमित्राका श्रीमान जगरुप मण्डल, छोरी रिना कुमारी मण्डल र बुहारी मनिता देवी घाइते भएका छन् । उनीहरूको परवानीपुरस्थित एलएसआर न्युरो अस्पतालमा उपचार भइरहेको छ । जगरुप मण्डलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धानका क्रममा मृतक रामेश्वरकी श्रीमती मनिता देवीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले प्रारम्भिक अनुसन्धानका आधारमा बुहारीको संलग्नता शंकास्पद देखिएको बताएका छन् । त्यस्तै यस घटनामा संलग्न भएको आरोपमा अर्का एक युवक पनि पक्राउ परेका छन् । ती युवक केही दिनअघि मात्रै दुबईबाट नेपाल फर्किएको खुलेको छ । प्रहरी स्रोतका अनुसार उनी २६ जनवरीमा दुबईको सारजाहबाट काठमाडौं ओर्लिएपछि सिधै बारा पुगेका थिए ।

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार बुहारी मनिता देवी र ती युवकबीच विवाह बाहिरको सम्बन्ध रहेको आशंका गरिएको छ । उक्त सम्बन्धबारे परिवारमा थाहा पाएपछि घरभित्र तनाव र विवाद बढेको र त्यसकै परिणामस्वरूप योजनाबद्ध रूपमा हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ । यद्यपि, यो विषय थप अनुसन्धानपछि मात्रै पुष्टि हुने प्रहरीले जनाएको छ । घटनाको जानकारी एक बालकले छिमेकीलाई दिएपछि गाउँलेहरू घटनास्थलमा पुगेका थिए । त्यसलगत्तै प्रहरीलाई खबर गरिएको थियो ।

सूचना पाउना साथ एसपी कुँवर स्वयं घटनास्थल पुगेका थिए । प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको छ भने तालिमप्राप्त कुकुर समेत परिचालन गरी अनुसन्धानलाई तीव्र बनाइएको छ । प्रहरीले हाल पक्राउ परेका दुवै जनामाथि गहिरो सोधपुछ गरिरहेको छ । घटनामा प्रयोग भएको हतियार, घटनाको वास्तविक योजना र अन्य सम्भावित संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाइएको छ । बारामा भएको यो हृदयविदारक घटनाले पारिवारिक सम्बन्ध, विश्वास र सामाजिक संरचनामाथि गम्भीर प्रश्न उठाएको छ । अनुसन्धानको अन्तिम नतिजा आउन बाँकी रहे पनि प्रहरीले सत्य बाहिर ल्याउने प्रतिबद्धता जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *