`

गाजा र सुडानलगायत क्षेत्रमा स्वास्थ्य अवस्था नाजुक : डब्लुएचओ

Nepal One HD २० माघ २०८२ २०:१७
विश्व

जेनेभा। विश्व स्वास्थ्य संगठनले सन् २०२६ मा विश्वभर देखिएका गम्भीर स्वास्थ्य आपतकालीन अवस्थाहरूको सामना गर्न करिब एक अर्ब अमेरिकी डलर बराबरको सहयोग आवश्यक रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग आपतकालीन आह्वान गरेको छ ।

सङ्गठनका अनुसार युद्ध, आन्तरिक द्वन्द्व, प्राकृतिक प्रकोप, रोगको फैलावट तथा कमजोर स्वास्थ्य प्रणालीका कारण करोडौँ मानिसहरू अत्यन्त जोखिमपूर्ण अवस्थामा जीवन बिताइरहेका छन् । धेरै देशहरूमा स्वास्थ्य संरचना ध्वस्त भएका छन् भने अस्पताल, औषधि, स्वास्थ्य उपकरण र दक्ष स्वास्थ्यकर्मीको अभावका कारण सामान्य उपचारसमेत प्रभावित भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले गाजा, सुडान, कंगो लोकतान्त्रिक गणराज्य, हाइतीलगायतका क्षेत्रहरूलाई अत्यन्त संकटग्रस्त क्षेत्रका रूपमा चिनाएको छ । ती स्थानहरूमा गर्भवती महिला, बालबालिका, वृद्ध तथा दीर्घरोगीहरू सबैभन्दा बढी जोखिममा रहेका छन्।

कुपोषण, संक्रामक रोग, मानसिक स्वास्थ्य समस्या, मातृ तथा नवजात शिशुको मृत्यु दर तीव्र रूपमा बढिरहेको संगठनले जनाएको छ । साथै सुरक्षित खानेपानी, सरसफाइ र खोप सेवाको पहुँच कमजोर हुँदा रोग फैलिने सम्भावना झन् बढ्दै गएको छ ।

सङ्गठनका अनुसार आवश्यक आर्थिक सहयोग समयमै जुटाउन नसकिएमा जीवनरक्षक उपचार, रोग नियन्त्रण कार्यक्रम, आपतकालीन स्वास्थ्य सेवा र स्वास्थ्य प्रणाली पुनःस्थापनामा गम्भीर असर पर्नेछ ।

यसले लाखौँ मानिसको ज्यान जोखिममा पार्न सक्ने भएकाले विश्व स्वास्थ्य संगठनले सरकारहरू, दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदारहरूलाई मानवीय आधारमा तत्काल सहयोग गर्न आग्रह गरेको छ ।

समयमै सहयोग प्राप्त भएमा सङ्कटग्रस्त क्षेत्रका जनताको जीवन रक्षा गर्न र स्वास्थ्य प्रणालीलाई पुनःसुदृढ बनाउन ठूलो योगदान पुग्ने सङ्गठनको विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *