विश्वपकमा टेष्ट राष्ट्रलाई हराउने सपना अधुरै, नेपाल ईङ्ल्याण्डसँग ४ रनले पराजित
काठमाडौं । जारी विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ईङ्ल्याण्डसँग ४ रनले पराजित भएको छ। निर्धारित २० ओभरमा १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेट गुमाएर १८० रन मात्रै बनाउन सक्यो।
नेपालका लागि उपकप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । उनले २९ बलमा १ छक्का र ६ चौका प्रहार गरे । त्यस्तै, कप्तान रोहित पौडेलले ३४ बलमा २ चौका र २ छक्काको सहायतामा ३९ रन बनाए ।
लोकेश बमले नेपाली टोलीका लागि आक्रामक पारी खेले । उनले २० बलमा २ छक्का र ४ चौका प्रहार गर्दै ३९ रन बनाए । त्यसअघि ओपनर कुशल भुर्तेलले आक्रामक सुरु गर्दै ४ चौका र १ छक्काको मद्दतमा २९ रन जोडे ।
उता ईङ्ल्याण्डका लागि लियाम डसनले २ विकेट लिए भने जोफ्रा आर्चर, सम कुरान, विल ज्याक्स र लुके वुडले समान १/१ विकेट लिए।
त्यसअघि, मुम्बईको वानखेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले नेपालसामु १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा इंग्ल्याण्डले १ सय ८४ रन जोडेको हो। उसका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ज्याकब वेथलले सर्वाधिक ५५ रन बनाए। उनले ३५ बलमा ४ चौका र ४ छक्काको सहायतामा ५५ रन जोडेका हुन्।
त्यस्तै, इङ्ग्लिस कप्तान ह्यारी ब्रुकले पनि अर्धसतक प्रहार गरे। उनले ३२ बलमा ४ चौका र ३ छक्काको मदतबाट ५३ रन जोडे। विल ज्याक्सले आक्रामक ब्याटिङ गर्दै १८ बलमा ४ छक्का र १ चौकाको सहयोगमा ३९ रनको विष्फोटक पारी खेल्दा ओपनर जोश बटलरले १७ बलमा ५ चौकाको मद्दतमा २६ रन बनाए।
यता नेपालका लागि दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २/२ विकेट लिदा सन्दिप लामिछाने र शेर मल्लले समान १/१ विकेट लिए।
विश्वकपमा टेष्ट मान्यताप्राप्त राष्ट्रलाई हराउने सपना यसपटक पनि अधुरै रहेको छ। अघिल्लो विश्वकपमा पनि नेपाल साउथ अफ्रिका र बंगलादेशसँग सानो मार्जीनले पराजित हुदा विश्वकपमा टेष्ट मान्यताप्राप्त राष्ट्रलाई हराउन चुकेको थियो।
