टी-२० विश्वकपमा नयाँ रेकर्ड, दोस्रो सुपरओभरमा साउथ अफ्रीकाको रोमाञ्चक जित
काठमाडौँ । साउथ अफ्रिकाले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान १८७ रनमा समेटिएपछि टी-२० विश्वकपको इतिहासमा आज नयाँ रेकर्ड बन्यो। आठवटा विश्वकप सकिदा आज पहिलोपल्ट एकै खेलमा दुइवटा सुपरओभर भए। भारतमा जारी टि -२० विश्वकपमा साउथ अफ्रिका र अफगानिस्तानबिचको खेल दुइवटा सुपरओभरमा पुगेपछि सकियो।
पहिलो सुपरओभरमा अफगानिस्तानले ६ बलमा १७ रन बनाएको थियो। तर साउथ अफ्रिकाले पनि समान १७ रन नै बनाएपछि खेल दोस्रो सुपरओभरमा धकेलिएको थियो।
दोस्रो सुपरओभर अझ रोमाञ्चक भयो। साउथ अफ्रिकाको पहिले ब्याटिङ थियो। क्रिजमा थिए ट्रीस्तान स्टब्स र डेविड मिलर। पहिलो बलमै स्टब्सले छक्का प्रहार गरे। दोस्रो बलमा स्ट्राइक रोटेट भयो- मिलर ब्याटिङमा पुगे। तेस्रो बलमा २ रन लिएका मिलरले चौथो र पाँचौ बलमा छक्का प्रहार गर्दै अफ्रिकालाई २३ रनको विशाल योगफलसम्म पुर्याए।
दोस्रो सुपर ओभरमा २४ रनको लक्ष्य पछ्याएर अफगानिस्तानका तर्फबाट ब्याटिङ गर्न मोहम्मद नाबी र अज्मातुल्ला ओमारजाइ क्रिजमा प्रवेश गरे। दोस्रो बलमै अफगानिस्तानले विकेट गुमायो। नाबी पेभेलिएन फर्किए। अफगानिस्तानको योगफल थियो जिरो। त्यसपछि ब्याटिङ गर्न आए रहमानुल्ला गुर्बाज। उनले तेस्रो, चौथो र पाँचौ बलमा लगातार ३ छक्का प्रहार गर्दै अफगानिस्तानलाइ जितको आशातर्फ पुर्याए। तर अन्तिम बलमा उनी आउट हुन पुगेपछि अफगानिस्तान साउथ अफ्रिकासँग निरिह बन्न पुग्यो।
भारतको नरेन्द्र मोदी स्टेडियममा अफगानिस्तानले टस जितेर बलिङको निर्णय गरेको थियो। टस हारेर ब्याटिङको निम्तो पाएको साउथ अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो।
उसका लागि रायन रिकेल्टनले आक्रामक पारी खेल्दै २८ बलमा ५ चौका र ४ छक्काको सहायतामा ६१ रन बनाए। ओपनर क्विन्टन डिककले ४१ बलमा ५९ रन जोड्दा डेवाल्ड ब्रेभिस र डेभिड मिलरले क्रमश: २३ र १९ रन बनाए।
अफगानिस्तानका लागि अज्मातुल्ला ओमारजाईले ४ ओभरमा ४१ रन खर्चिएर ३ विकेट लिदा कप्तान राशिद खानले २ र फ़जलहक फारुकी १ विकेट लिए।
१ सय ८८ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको अफगानिस्तानले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १ सय ८७ नै रन बनायो। यसैले खेललाई सुपरओभरतर्फ पुर्याएको थियो।
अफगानिस्तानका लागि ओपनर रहमानुल्ला गुर्बाजले ४२ बलमा ४ चौका र ७ छक्का प्रहार गर्दै सर्वाधिक ८४ रन बनाए। त्यस्तै, अज्मातुल्ला ओमारजाईले २२, कप्तान राशिद खानले २० र नुर अहेम्दले १५ रन बनाए। जुन अफगानिस्तानको जितको लागि पर्याप्त थिएन।
अफगानिस्तानलाई सुपर ओभरको बराबरी रोक्ने क्रममा साउथ अफ्रिकाको लागि लुँगी ईन-गिड़ीले किफायती बलिङ गर्दै ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए। त्यस्तै, मार्को ज्यान्सन, कागीसो रबडा, जर्जी लिन्डे र केशव महाराजले समान १\१ विकेट लिए।
