विदेशी लगानीमा ५० करोडको छेकबार हट्यो
काठमाडौं । सरकारले स्वचालित मार्गबाट हुने वैदेशिक लगानीमा ५० करोड रुपैयाँको अधिकतम सीमा हटाएको छ । यससँगै उद्योग व्यवसायका क्षेत्रमा विदेशी लगानी भित्र्याउने प्रक्रिया सहज भएको छ ।
यसअघि स्वचालित मार्गबाट ५० करोड रुपैयाँसम्म मात्र विदेशी लगानी स्वीकृत हुन्थ्यो । तर, हालैको मन्त्रिपरिषद् बैठकले यो सीमालाई हटाएको हो । अब जुनसुकै रकमको विदेशी लगानी पनि तोकिएका क्षेत्रमा स्वचालित मार्गबाट स्वीकृत हुन सक्छ ।
नयाँ व्यवस्थाले मुख्य सात वटा औद्योगिक क्षेत्रका कुल १ सय २ वटा व्यावसायिक क्षेत्रमा कुनै पनि सीमा बिना लगानी भित्र्याउने बाटो खोलेको छ । यसअघि २०८० असोज १५ गते प्रकाशित राजपत्रको सूचनाअनुसार स्वचालित मार्गबाट हुने विदेशी लगानीमा ५० करोड रुपैयाँको अधिकतम सीमा तोकिएको थियो ।
उक्त पुरानो सूचनालाई अहिलेको नयाँ राजपत्रले खारेज गरिदिएको हो । लगानीकर्ताले उद्योग विभागको अनलाइन प्रणालीमा आवेदन दिएपछि आवेदन दिएको तुरुन्तै वा ७ कार्य दिनभित्र स्वीकृति प्रमाणपत्र इमेलमार्फत प्राप्त हुन्छ । यसले कम्पनी दर्ता र उद्योग सञ्चालनलाई छिटो बनाउँछ ।
स्वचालित मार्ग लागू हुने क्षेत्रहरूमा ऊर्जा उत्पादन, कृषि तथा वन उत्पादन, पूर्वाधार, पर्यटन, सूचना प्रविधि आधारित उद्योग, सेवा क्षेत्र, उत्पादनमूलक उद्योगलगायत रहेका छन् । सूचना प्रविधि क्षेत्रमा पनि न्यूूनतम लगानी सीमा पनि छैन ।
विदेशी लगानीकर्ताले अनलाइन फारम भर्नुपर्छ । कम्पनीको देश, लगानी रकम, क्षेत्र आदि विवरणसहित अनालाइनमार्फत आवश्यक कागजात अपलोड गरेपछि सबै मापदण्ड पूरा भएमा प्रणालीले स्वतः स्वीकृति दिनेछ । स्वीकृति पाएपछि नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा स्रोत प्रमाणित गर्नुपर्ने हुन्छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ७ महिनामा कुल ४० अर्ब २८ करोड रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको छ, जसमा स्वचालित मार्गबाट पनि त्यस्तो लगानी आउने क्रम बढ्दो छ ।
स्वचालित व्यवस्थाले विदेशी लगानीकर्तालाई नेपालमा व्यवसाय सुरु गर्न निकै सहज बनाएको छ ।
