`

पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसक्यो : जेलेन्स्की

Nepal One HD ११ फागुन २०८२ २०:५१
विश्व

किएभ, ११ फागुन । रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको चार वर्ष पुग्नै लाग्दा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेस्रो विश्वयुद्धको प्रक्रिया सुरु गरिसकेको विश्वास व्यक्त गरेका छन् । उनका अनुसार अहिलेको सङ्घर्ष केवल दुई देशबीच सीमित छैन, बरु विश्व व्यवस्थामाथिको चुनौतीका रूपमा विकसित भइरहेको छ ।

बिबिसीसँगको हालैको अन्तर्वार्ताको सारांश सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गर्दै जेलेन्स्कीले तेस्रो विश्वयुद्धबारे फरक–फरक धारणा रहेको उल्लेख गरे । “तेस्रो विश्वयुद्धका बारेमा विभिन्न दृष्टिकोण छन् । मलाई लाग्छ पुटिनले यसलाई सुरु गरिसक्नुभएको छ । प्रश्न के हो भने, रुसले कति भूभाग कब्जा गर्न सक्छ र उसलाई कसरी रोक्ने ?” उनले लेखेका छन् । उनका अनुसार उद्देश्य केवल रुसलाई जित्न नदिनु मात्र होइन, तर रुसले आफ्नो सोच र शासन पद्धति अरूमाथि थोपर्ने प्रयासलाई रोक्नु हो ।

जेलेन्स्कीले आफूले लामो समयदेखि पुटिनले व्यापक युद्धको ढोका खोलिसकेको ठानेको उल्लेख गर्दै युक्रेन अहिले त्यसलाई पूर्णस्तरको तेस्रो विश्वयुद्धमा परिणत हुनबाट रोक्ने ‘अग्रमोर्चा’ भएको दाबी गरेका छन् । “आज हामी पुटिनलाई रोक्ने चौकी हौँ”, उनले भनेका छन् ।

उनको टिप्पणी २४ फेब्रुअरी २०२२ मा सुरु भएको रुसी पूर्ण आक्रमणको चौथो वार्षिकोत्सवको एक दिनअघि आएको हो । यस अवधिमा युद्धले हजारौँको ज्यान लिएको छ र पूर्वी युरोपको सुरक्षा सन्तुलनमा गहिरो असर पारेको छ ।

जेलेन्स्कीले वर्तमान अवस्थामा सबैभन्दा ठूलो चुनौती युक्रेनको हवाई रक्षा प्रणाली सुदृढ पार्नु रहेको बताए । उनले अन्तर्राष्ट्रिय साझेदारहरूले युक्रेनलाई उन्नत हवाई रक्षा प्रणाली स्वदेशमै उत्पादन गर्न आवश्यक इजाजतपत्र नदिएकोप्रति असन्तोष व्यक्त गरे । “वायु रक्षा आजको सबैभन्दा चुनौतीपूर्ण मुद्दा हो”, उनले लेखेका छन्, “दुर्भाग्यवश, साझेदारहरूले अझैसम्म हामीलाई उदाहरणका लागि प्याट्रियट प्रणाली आफैँ उत्पादन गर्न वा कम्तीमा हामीसँग रहेका प्रणालीका लागि मिसाइल बनाउन लाइसेन्स दिएका छैनन् ।”

अमेरिकामा निर्मित एमआईएम–१०४ प्याट्रियट प्रणालीको उल्लेख गर्दै उनले युक्रेनलाई कम्तीमा मिसाइल उत्पादनको अनुमति आवश्यक रहेको बताए । उनका अनुसार आकाश सुरक्षित नभएसम्म नागरिक जीवन, शिक्षा, उद्योग र अर्थतन्त्र स्थिर हुन सक्दैन । “यदि नागरिकहरू सुरक्षित छन् भने अर्थतन्त्र चल्छ, कर उठ्छ र त्यसले सेनालाई बलियो बनाउँछ”, उनले स्पष्ट गरेका छन् ।

अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आह्वान गर्दै जेलेन्स्कीले युक्रेनको हवाई क्षेत्र सुरक्षित गर्नु नै युद्धको परिणामलाई प्रभाव पार्ने निर्णायक तत्व भएको दोहोर्‍याउका छन् । उनका यी अभिव्यक्तिले युक्रेनले रुसी आक्रमणको सामना गर्न झेलिरहेको निरन्तर सुरक्षा र सामरिक दबाबलाई पुनः उजागर गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *