`

जेन-जीलाई लिङ्देनकाे आग्रह- फेसबुक, टिकटक र रिल हेरेर मत नदिनु हाेला

Nepal One HD १४ फागुन २०८२ १३:१३
निर्वाचन विषेश

काठमाडौं ।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले फेसबुक, टिकटक र रिल हेरेर मत नदिन मतदातासँग आग्रह गरेका छन् । उनले यस्ताे आग्रह नवपुस्ता अर्थात् जेन-जीलाई गरेका हुन् ।

उनले हलाे चिह्नमा मतदान गरेर आफ्नाे भविष्य उज्जवल बनाउनुपर्नेमा जाेड दिए ।

बिहीबार काठमाडौँ-२ मा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले भने, ‘लहैलहैमा फेसबुक हेरेर, टिकटक हेरेर, रिल हेरेर भोट दिएर आफ्नो भविष्य बिगार्ने काममा आफ्नै हातलाई प्रयोग नगर्नुस् । युवा पुस्ता जो फेसबुक, रिल्स र टिकटकको पछि कुदिँराख्नुभएको छ, त्यो युवा पुस्तालाई म आग्रह गर्न चाहन्छु- तपाई आफ्नो भविष्य उज्जल भएको देख्न चाहनुहुन्छ भने तपाईंको पूर्खाले नासोको रुपमा तपाईलाई सुम्पिएको यो स्वाधिन नेपाललाई आउने पुस्तालाई पनि त्यत्तिकै स्वतन्त्र र स्वाधिन रुपमा, अखण्ड रुपमा बुझाउ चाहनुहुन्छ भने टिकटक रिल्स र फेसबुकको पछि लागेर होइन, यर्थाथको धरातल टेकेर हलो चिह्न मतदान गर्न म आग्रह गर्न चाहन्छु।’

निर्वाचन एक सांसद छान्ने वा सरकार बनाउने प्रक्रिया मात्र नभएको उल्लेख गर्दै देशको भविष्यसँग जोडिएको निर्णायक मोड भएको उनको भनाइ थियो। उउनले नेपाल प्रथम भन्ने सोचलाई केन्द्रमा राखेर प्रत्येक मतदाताले हजार पटक सोचेर मात्र मतदान गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘यो पटकको निर्वाचन एक थान सांसद चुन्ने मात्रै होइन, एउटा सरकार निर्माण गर्ने चुनाव मात्रै होइन। अहिले हामी विशिष्ट परिस्थितिबीच यो निर्वाचनमा प्रवेश गरेका छौँ । हामी अहिले देशै रहन्छ कि रहँदैन भन्ने अवस्थामा छौँ। त्यसकारण देशलाई केन्द्रमा राखेर नेपाल प्रथम, नेपाली प्रथम भन्ने कुरालाई केन्द्रमा राखेर तपाई हरेक मतदाताले आफ्नो अमूल्य मतदान गर्नुभन्दा अगाडी हजार पटक सोचेर मात्रै मतदान गर्नुस्।’

देशमा शान्ति, विकास र स्थिरताको लागि राप्रपा नै एकमात्र विकल्प भएको उनको दाबी थियो। राप्रपाले नयाँ र पुराना सबै राजनीतिक शक्तिलाई समन्वय गरेर अघि बढाउन सक्ने दाबी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *