`

 गृहमन्त्री अर्यालले भेटे रामेछाप सवारी दुर्घटनाका घाइते

Nepal One HD १९ फागुन २०८२ १४:१४
प्रशासन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका घाइतेलाई भेटी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

गृहमन्त्री अर्यालसहितको टोलीले छाउनीस्थित सैनिक अस्पताल पुगेर उपचाररत घाइतेसँग संवाद गर्दै अवस्थाबारे जानकारी लिएको हो ।

फागुन १८ गते रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए । घाइतेहरूको उद्धार गरी हाल छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ । निर्वाचन प्रयोजनका लागि मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सवार सवारी साधन दुर्घटनामा परेको थियो ।

सो अवसरमा गृहमन्त्री अर्यालले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सरकारले कुनै कमी आउन नदिने बताएका छन् । गृहमन्त्रीका साथमा मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्ले लगायत उच्च अधिकारीहरू पनि अस्पताल पुगेका छन् ।

छाउनी अस्पतालका चिकित्सक तथा नेपाली सेनाका सहायकरथी डा. नम्रता महराका अनुसार घाइतेमध्ये पूजा सुनुवारको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ । बाँकी छ जना भीमबहादुर मानन्धर, केदारकुमार रोका, दुर्गा कार्की, कृष्णप्रसाद घिमिरे, सबिना खड्का र समरबहादुर मानन्धर मेडिकल वार्डमा उपचाररत छन् । घाइतेमध्ये चार महिला र तीन पुरुष छन् ।

मन्थलीबाट मतदान केन्द्र कालिका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयमा निर्वाचन सामग्रीसहित कर्मचारी लिएर जाँदै गरेको ना. ७ ख ६७६८ नं. को निशान गाडी सडकबाट करिब १०० मिटर तल खसेको थियो । दुर्घटनामा परी मतदान अधिकृत डोरप्रसाद घिमिरे र नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पर्शुराम यादवको निधन भएको प्रहरीले जनाएको छ । उक्त गाडीमा ११ जना सवार रहेको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *