`

पराजयपछि रेनु दाहालको प्रतिक्रिया : ‘कामले मन जितें, तर मत जित्न सकिनँ’

Nepal One HD २३ फागुन २०८२ १४:१०
निर्वाचन विषेश

भरतपुर । चितवन-३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहालले काम गर्दा गर्दै पनि निर्वाचनमा पराजय बेहोर्नुपरेको बताएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमसँग पराजित भएपछि दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै आफूले जनताको मन जिते पनि मत जित्न नसकेको उल्लेख गरेकी हुन्।

दाहालले झण्डै ३० वर्षको राजनीतिक यात्रामध्ये नौ वर्ष भरतपुरको विकास, समृद्धि र सुशासनका लागि समर्पित गरेको बताएकी छन्। विकासका लागि आवश्यक नीति तथा नियम नहुँदा काम गर्न असहज भइरहेको अनुभवका कारण प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको उनको भनाइ छ।

उनले महानगर प्रमुखको कार्यकाल अझै १५ महिना बाँकी रहँदै पदबाट बाहिरिएर चितवन-३ बाट प्रतिनिधिसभा निर्वाचनमा होमिएको पनि उल्लेख गरेकी छन्।

निर्वाचनको मतपरिणामलाई सम्मान गर्दै दाहालले विजयी उम्मेदवार सोबिता गौतमलाई बधाई दिएकी छन्। साथै चितवनवासीको मत खेर नजाने विश्वास व्यक्त गर्दै आगामी दिनमा विकास र समृद्धिका लागि काम गर्न शुभकामना पनि दिएकी छन्।

दाहालले निर्वाचनमा आफूलाई विश्वास गरेर मतदान गर्ने मतदाता, चुनावी अभियानमा सक्रिय रहेका पार्टीका नेता-कार्यकर्ता, समर्थक तथा सहयोगीप्रति आभार व्यक्त गरेकी छन्। उनले चितवनवासीको हकहित, विकास र समृद्धिका लागि आफू निरन्तर साथमा रहने प्रतिबद्धता पनि जनाएकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *