समानुपातिक मतगणना अपडेट : रास्वपाको तीन लाख काट्दा कांग्रेसले एक लाख पुर्यायो, एमाले र नेकपाको कति ?
काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भइसकेका स्थानमा समानुपातिकतर्फ मतगणना जारी राखेको छ। शनिबार साँझसम्म देशभर करिब ६ लाख भन्दा बढी मत गणना भइसकेको आयोगले जनाएको छ।
आयोगले अद्यावधिक गरेको पछिल्लो तथ्यांकअनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मत अनुपात केही घटेको देखिएको छ। हालसम्मको गणनामा रास्वपाले कुल सदर मतको करिब ५५ प्रतिशत हिस्सा अर्थात् ३ लाख २४ हजार ३९४ मत प्राप्त गरेको छ।
यस्तै, नेपाली कांग्रेसले करिब १६ प्रतिशत अर्थात् १ लाख ४४० मत पाएको छ भने नेकपा (एमाले) ले १३ प्रतिशत अर्थात् ८१ हजार ६११ मत प्राप्त गरेको छ। एमालेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मत हिस्सा करिब ५-५ प्रतिशतको हाराहारीमा रहेको छ। नेकपाले ३६ हजार ५८ मत प्राप्त गर्दा राप्रपाले २५ हजार ६२७ मत प्राप्त गरेको छ।
त्यस्तै, श्रम संस्कृति पार्टीले २ प्रतिशतभन्दा बढी अर्थात् १२ हजार ३४३ मत प्राप्त गरेको छ भने अन्य साना दलहरूले संयुक्त रूपमा करिब ५ प्रतिशत मत प्राप्त गरेका छन्।
