युरोपले इच्छा देखाए तेल र ग्यास आपूर्तिमा सहकार्य सम्भव : पुटिन
मस्को। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली देशहरूले सहकार्यका लागि स्पष्ट र सकारात्मक सङ्केत दिएमा रूस तेल तथा प्राकृतिक ग्यास आपूर्तिमा सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।
उहाँले दीर्घकालीन, स्थिर र राजनीतिक दबाबबाट मुक्त सहकार्य भएमा दुवै पक्षका लागि लाभदायी हुने धारणा व्यक्त गर्नुभएको छ ।
सोमबार आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति पुटिनले युरोपेली कम्पनीहरू र ऊर्जा खरिदकर्ताहरूले दीर्घकालीन तथा दिगो सहकार्यतर्फ अग्रसर भए रूस त्यसका लागि खुला रहेको उल्लेख गर्नुभयो । उहाँले रूसले विगतमा पनि ऊर्जा आपूर्ति सम्बन्धी सहकार्य अस्वीकार नगरेको र भविष्यमा पनि पारस्परिक हितका आधारमा सहकार्य जारी राख्न इच्छुक रहेको बताउनुभयो ।
उहाँको यो अभिव्यक्ति हाल मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र त्यसका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा देखिएको तीव्र वृद्धिका बीच आएको हो । विश्लेषकहरूका अनुसार यस प्रकारका क्षेत्रीय द्वन्द्वले विश्व ऊर्जा बजारमा अस्थिरता बढाउने सम्भावना रहन्छ, जसको प्रभाव विभिन्न क्षेत्रीय अर्थतन्त्रहरूमा देखिन सक्छ ।
राष्ट्रपति पुटिनले युरोपेली सङ्घले आगामी अप्रिलदेखि रूसबाट ऊर्जा स्रोत खरिदमा थप प्रतिबन्ध लगाउने योजना बनाएको जानकारी पनि दिनुभयो । उहाँका अनुसार युरोपेली सङ्घले सन् २०२७ सम्म रूसबाट हुने ऊर्जा आयात पूर्ण रूपमा अन्त्य गर्ने लक्ष्य लिएको बताइएको छ ।
यस परिप्रेक्ष्यमा रूस सरकारले युरोपतर्फको ऊर्जा आपूर्तिसम्बन्धी नीति तथा सम्भावनाबारे अध्ययन गर्न सम्बन्धित निकायलाई जिम्मेवारी दिएको पुटिनले बताउनुभयो । साथै उहाँले रूसले आफ्ना ऊर्जा निर्यातलाई अन्य आकर्षक बजारतर्फ विस्तार गर्दै नयाँ साझेदारीहरू सुदृढ गर्न आवश्यक रहेको पनि उल्लेख गर्नुभयो ।
उहाँका अनुसार रूस अझै पनि विश्वसनीय ऊर्जा आपूर्तिकर्ता राष्ट्रका रूपमा रहेको छ र विश्वासिलो साझेदार देशहरूसँग तेल तथा ग्यास आपूर्ति सम्बन्धी सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता राख्दछ । उहाँले एशिया–प्रशान्त क्षेत्रका देश तथा पूर्वी युरोपका केही देशहरूसँग ऊर्जा सहकार्य जारी रहेको जानकारी पनि दिनुभयो ।
