`

सर्वोच्चमा उच्च अदालत पाटनका न्यायाधीशविरूद्ध अवहेलना मुद्दा दर्ता,बुधबार पेसी तोकियो

Nepal One HD १७ चैत २०८२ १२:५०
प्रशासन

काठमाडौं। उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना सम्बन्धी मुद्दा दर्ता भएको छ। सर्वोच्च अदालतमा न्यायाधीश ऋषि राजभण्डारी र गोपालप्रसाद बास्तोलाविरुद्ध  सोमबार अदालतको अवहेलना सम्बन्धी रिट दायर गरिएको हो। 

उक्त रिट कानुनका विद्यार्थी विवेक चौधरीले दायर गरेका हुन्,जसको सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ।

रिट निवेदनमा उच्च अदालत पाटनले फैसला गर्दा सर्वोच्च अदालतले प्रतिपादन गरेका बाध्यकारी कानुनी सिद्धान्तहरूको पालना नगरेको आरोप लगाइएको छ। 

चौधरीले आफ्नो निवेदनमा सर्वोच्चका विभिन्न निर्णयमार्फत स्थापित सिद्धान्तहरू उल्लेख गरिएको भए पनि ती सिद्धान्तलाई बेवास्ता गर्दै फैसला गरिएको दाबी गरेका छन्।

निवेदनअनुसार नगर प्रहरी तथा ट्राफिक प्रहरीले सवारी साधनमा ‘ह्विल लक’ लगाउने कार्य कानुनी आधारबिना गरिएको भन्दै उक्त कार्य बदर गराउन उच्च अदालत पाटनमा रिट दायर गरिएको थियो। तर, अदालतले ट्राफिक व्यवस्थापनका लागि सीमित स्रोत साधनको आधारमा ‘ह्विल लक’ प्रयोगलाई अवैध भन्न नमिल्ने ठहर गर्दै रिट खारेज गरेको थियो।

चौधरीले सर्वोच्च अदालतले विभिन्न मुद्दामा ‘कानुनले स्पष्ट अधिकार नदिएसम्म कुनै निकायले अधिकार प्रयोग गर्न नपाउने’ र ‘राज्यका सबै निकाय कानुनको अधीनमा रही काम गर्नुपर्ने’ जस्ता सिद्धान्त स्थापित गरिसकेको उल्लेख गर्दै ती सिद्धान्तको जानाजानी उल्लंघन गरिएको आरोप लगाएका छन्।

नेपालको संविधानको धारा १२८ (४) अनुसार सर्वोच्च अदालतले प्रतिपादन गरेको कानुनी सिद्धान्त सबैले पालन गर्नुपर्ने व्यवस्था रहेको छ। यस्तो अवस्थामा तल्लो अदालतले ती सिद्धान्तको बेवास्ता गरेको भन्दै उक्त कार्यलाई अवहेलनाको विषय बनाएर रिट दायर गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *