`

काठमाडौं महानगरको ३२ मध्ये १० वडामा भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने तयारी

Nepal One HD १७ चैत २०८२ १४:४३
प्रशासन

काठमाडौं। काठमाडौं महानगरपालिकाले ३२ वडामध्ये १० वटा वडामा भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ।

कामपाका कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार, पहिलो चरणमा नमूनाका रूपमा वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।

उक्त सेवाका लागि कामपाले चावहिल, डिल्लीबजार र कलंकी मालपोत कार्यालयसँग सहकार्य गर्नेछ। यसअघि चार किल्ला सिफारिस, घरबाटो सिफारिस जस्ता सेवा दिँदै आएकोमा अब वडाबाटै भूमि प्रशासन सेवासमेत उपलब्ध गराइनेछ।

वडाबाट उपलब्ध हुने सेवाहरूमा भूमि स्वामित्व तथा हकसम्बन्धी सेवा, लेखापढी, स्रेस्ता तथा अभिलेख व्यवस्थापन, रोक्का तथा फुकुवा सिफारिस, कर तथा राजस्वसम्बन्धी सेवा कार्यक्रम समावेश रहेका छन्।

कार्यवाहक प्रमुख  डंगोलले भनिन्,’नागरिक परामर्श तथा गुनासो सहजीकरण, सेवाग्राहीबाट लिनुपर्ने राजस्वको व्यवस्था, सेवाग्राहीको पहिचान सुनिश्चित गर्न बायोमेट्रिक विवरण सङ्कलन, बैंकमा रोक्का राख्ने वा फुकुवा गर्ने प्रक्रिया, सिफारिस र अभिलेख व्यवस्थापन सबै वडाबाटै हुनेछ।’

कामपाको ४७औँ कार्यपालिका बैठकले नमुना कार्यक्रमका रूपमा १० वटा वडाबाट भूप्रशासन सेवा प्रारम्भ गर्ने निर्णय गरेको थियो। अहिले सोही अनुरूप कार्यान्वयन सुरु गर्न लागिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *