किर्तीमानी रेस्लर परिन् पक्राउ
काठमाडौं- नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको आरोपमा अर्की महिलालाई पक्राउ गरेको छ।
ब्यूरोका अनुसार पीडित महिलाले आफ्नो फोटोमा अश्लील टिप्पणी गर्दै सार्वजनिक रूपमा बेइज्जती गरेको, घृणा र द्वेष फैलाएको भन्दै उजुरी दिएकी थिइन्।
उक्त उजुरीका आधारमा गरिएको प्राविधिक अनुसन्धानबाट रामेछापको मन्थली नगरपालिका–१२ स्थायी घर भई काठमाडौं महानगरपालिका–३१ शान्तिनगर बस्ने ३५ वर्षीया भगवती खड्का को संलग्नता खुलेको प्रहरीले जनाएको छ।
खड्का ‘युनिका’ नामले परिचित एक रेस्लिङ खेलाडी हुन्। उनको नाम वर्ल्ड बुक अफ लण्डनमा समेत समावेश भएको छ।
उनी अध्यक्ष रहेको नेपाल महिला रेस्लिङ फाउन्डेसन ले सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित ५,६४४ मिटर उचाइमा रहेको कालापत्थरमा रेस्लिङ प्रतियोगिता आयोजना गरेको थियो। २०८१ जेठ १६ (मे २९) ‘एभरेष्ट डे’ का अवसरमा भएको उक्त प्रतियोगितामा खड्काले अमेरिकी रेस्लर डानियल मोरिसन लाई पराजित गरेकी थिइन्। सोही उपलब्धिका कारण उनको नाम विश्व कीर्तिमानमा दर्ता गरिएको थियो।
तर, सोही विश्व कीर्तिमानधारी खड्का अहिले अर्की महिलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेकी हुन्।
प्रहरीका अनुसार उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत काठमाडौंबाट पक्राउ गरिएको हो। जिल्ला अदालत काठमाडौंको आदेशमा उनीमाथि चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिलीप कुमार गिरी ले जानकारी दिएका छन्।
