‘सहकारीपीडितको रकम सरकारबाट होइन, ती अपराधीहरूको सम्पत्ति जफत गरी तिराइनुपर्छ’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सहकारी ठगी प्रकरणमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने बताएका छन्।
उनले रास्वपा सभापति रवि लामिछानेप्रति लक्षित गर्दै भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताएका हुन्।
प्रतिनिधिसभामा बिहीबार बोल्दै शाहीले सर्वसाधारणले दुःख गरेर जम्मा गरेको सहकारीको रकम हिनामिना गर्नेहरूलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने उल्लेख गरे। ‘सडकको किनारमा मकै पोलेर, साग बेचेर, पसिना र रगत बगाएर संकलन गरिएको रकम हडप्ने भ्रष्टाचारीलाई कानुनको कठघरामा उभ्याइनेछ,’ उनले भने।
उनले पीडितको रकम राज्यकोषबाट नभई दोषीहरूको सम्पत्ति जफत गरेर फिर्ता गरिनुपर्नेमा जोड दिए। ‘पीडितको रकम सरकारबाट होइन, ती अपराधीहरूको तीन पुस्ते सम्पत्ति जफत गरेर तिराइनेछ भन्ने कुरामा म सरकारसँग आशावादी छु,’ उनले बताए।
शाहीले सहकारी ठगी प्रकरणलाई गम्भीर आर्थिक अपराधका रूपमा हेर्नुपर्ने उल्लेख गर्दै दोषीलाई कडा सजाय दिलाउन सरकार दृढ हुनुपर्ने धारणा राखे।
