`

‘बले’लाई लाग्यो बलात्कारको आरोप

Nepal One HD २० चैत २०८२ ११:५७
अपराध

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’माथि बलात्कारको आरोप लागेको छ। अमेरिकामा बस्दै आएकी एक युवतीले सामाजिक सञ्जालमार्फत उनीमाथि यस्तो आरोप  राखेको आरोप लगाएकी हुन्।

युवतीका अनुसार एक वर्षअघि लम्साल अमेरिका पुगेका बेला आफ्नो अपार्टमेन्टमै उक्त घटना भएको हो। उनले आफू सानै उमेरदेखि डिप्रेसन र एन्जाइटी समस्यासँग जुधिरहेको अवस्थामा आफूले दाइझैँ विश्वास गरेको व्यक्तिबाट यस्तो व्यवहार भएको दाबी गरेकी छन्।

उनले सामाजिक सञ्जालमा लेख्दै चिनजानको आधारमा आफ्नो बस्ने ठाउँ देखाउन लगेको र त्यही क्रममा आफू असुरक्षित अवस्थामा परेको उल्लेख गरेकी छन्। आफूले व्यक्तिगत समस्या र संघर्ष सुनाइरहेका बेला अप्रत्याशित रूपमा दुर्व्यवहार भएको उनको भनाइ छ।

उनले लेखेकी छिन् ‘कुरा गर्दै जाँदा उहाँले “तिमी बसेको ठाउँ हेरौँ न त” भन्नुभयो। मैले १० वर्षभन्दा बढी समयदेखि चिन्ने, आफ्नै दाइझैँ मानेको मान्छेलाई विश्वास गरेर आफ्नो अपार्टमेन्ट देखाउन लगेँ। अपार्टमेन्टमा बसेर कुरा गर्दा मेरो स्वास्थ्यको विषय आयो। मैले आफ्ना सबै पीडा, संघर्ष-रुँदै, बताउँदै, कति गाह्रो भइरहेको छ भनेर सुनाएँ। तर मलाई थाहा थिएन- जसलाई मैले दाइ मानेकी थिएँ, जसलाई हाम्रो परिवारले पनि आफ्नै मान्थ्यो, त्यो मान्छे वास्तवमा राक्षस रहेछ । म बलात्कृत भएँ।’

उनले घटनाबारे परिवारलाई भन्न चाहेर पनि त्यसले परिवारमा असर पार्ने डरका कारण चुप बसेको उनले बताएकी छन्। साथै,उनले सामाजिक सञ्जालमै लम्साललाई प्रश्न गर्दै यस्तो व्यवहारपछि कस्तो महसुस हुन्छ भनेर सोधेकी छन्।

आरोप लगाउने युवती फिल्मकर्मी परिवारसँग सम्बन्धित र स्वयं पनि कलाकार रहेको बताइएको छ। उनलाई नजिकबाट चिन्ने केही व्यक्तिहरूले उनको स्वभावका आधारमा उनले झूटो आरोप लगाएको जस्तो नलाग्ने प्रतिक्रिया दिएका छन्।

यस विषयमा ‘बले’बाट भने कुनै प्रतिक्रिया आएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *