`

आफूविरुद्दका आरोप निराधार रहेको देउवाको दाबी

Nepal One HD २५ चैत २०८२ २०:०३
नेपाली कांग्रेस

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले आफ्नाविरुद्ध संचारमाध्यममा फैलिएका सम्पत्ति शुद्धिकरणसम्बन्धी आरोपहरू ‘निराधार, भ्रामक र प्रचारवादी’ भएको बताएका छन्। बुधबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत जारी गरेको वक्तव्यमा उनले आफ्नो जीवन ‘खुला किताब’ भएको दाबी गर्दै पछिल्ला आरोपलाई ‘झुटा’ रहेको बताएका हुन् ।

‘म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ’, उनको स्टाटसमा उल्लेख छ, ‘म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु।’

देउवाले आफू र परिवारविरुद्ध सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको खबर संचारमाध्यमबाट मात्र थाहा पाएको उल्लेख गर्दै ती समाचारहरूले गलत धारणा फैलाउने प्रयास गरेको आरोप लगाए। उनका अनुसार सार्वजनिक पदमा रहेका बेला आफूले नेपालको कानुनअनुसार सम्पत्ति विवरण सम्बन्धित सरकारी निकायमा नियमित रूपमा पेस गरेका छन्।

नेपालमा सुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले आफूले सिंगो जीवन समर्पित गरेको उल्लेख गर्दै देउवाले गृहमन्त्री तथा प्रधानमन्त्रीका रूपमा रहँदा सुशासन सम्बन्धी कानुनी संरचना मजबूत गर्न भूमिका खेलेको दाबी गरे। उनले विशेष रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (२०४८) तथा भ्रष्टाचार निवारण ऐन (२०५९) कार्यान्वयनमा आफ्नो अगुवाइ भएको स्मरण गराए।

विदेशमा स्वास्थ्य उपचारका लागि बसेको बताउँदै देउवाले समयक्रमसँगै वास्तविकता प्रष्ट हुँदै जाने दाबी गरे। 

उनले सार्वजनिक भएका अतिरञ्जित विवरणबाट भ्रममा नपर्न सर्वसाधारणसँग आग्रह पनि गरेका छन्।

देउवाको स्टाटस:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *