राजाको एजेन्डा छाड्दै लिङ्देन ! एजेण्डा परिवर्तनको बैठकबारे गौचन असन्तुष्ट
राजनीति
काठमाडौं । वैचारिक अस्पस्टताबीच विचार र लक्ष्यबाट विमुख भएकै कारण राष्ट्रिय प्रजातन्त्र पार्टी कुम्भ मेलाको भीडमा रुपान्तरण हुँदै असफल भएको एक केन्द्रीय नेताले बताएका छन् ।
नेतृत्वपंक्तिको कमजोरी आत्मसात नगरी पार्टीका जिम्मेवार नेताहरु नै एजेन्डा परिवर्तन गर्न गोप्य बैठकमा जुटेकोमा राप्रपाका वरिष्ठ नेता जगत गौचनले असन्तुष्टी व्यक्त गरेका छन् ।
‘राप्रपा जुन उद्देश्य प्राप्तिको लागि स्थापना भएको थियो, त्यो हामीले बिर्स्यौं,’ गौचनले भने, ‘विचार र दर्शनलाई आत्मसात नगर्ने पार्टी त कुम्भ मेलाको भीड जस्तै न हो । अहिले हाम्रो स्थिति त्यस्तै देखिन्छ । भर्खरै मध्यावधि निर्वाचन सम्पन्न भयो । त्यसबाट नयाँ परिस्थिति आयो । नयाँ दल अगाडि पुगे । किनकी हामीले विकल्प दिन सकेनौं,’ उनले भने ।
राप्रपाका जिम्मेवार नेताहरु आफ्ना कमीकमजोरी लुकाउन एकअर्कालाई दोषारोपण गर्न थालेको गौचनको भनाइ छ ।
‘मैले सुनेको पार्टीका जिम्मेदार नेताहरु पनि चक्रपथतिर गोप्य बैठक गरी एजेन्डामा विचार गर्नुपर्छ भन्न थालेछन् ।’
वरिष्ठ नेता गौचनले सामाजिक संजालमा भने, ‘कसै कसैले राजा र हिन्दू एजेन्डाबाट भोट आएन एजेन्डामा विचार गर्नुपर्छ पनि भन्न थालेछन् । कसै कसैले दरबारबाट हामीलाई सहयोग नै भएन, हामीले त्यो एजेन्डा किन बोक्ने भन्न थालेछन् । आफ्नो कमजोरी लुकाउन अरुलाई दोषारोपण गर्ने हाम्रो बानी नै हो ।’
वैदिक सनातन हिन्दु धर्म नेपालको हिमवत खण्डमा चिन्तन गरिएको, विश्वको सबैभन्दा प्राचीन दर्शन हो । विश्वका सम्पूर्ण धर्म, दर्शनको प्रेरणाको अजश्व श्रोतनै हिन्दु दर्शन हो, उनले भने ।
उनका अनुसार देशको धर्म र नेपाली एकीकरण गर्ने शाह वंशको उच्च सम्मान गर्नु पर्दछ।
‘यो दुईवटा तत्वको अभावमा मुलुकको अस्तित्वनै रहँदैन भन्ने हाम्रो मान्यता रहेको छ । जसको संकेतहरु देखा पर्न थालेको छ । यो नै हाम्रो पार्टीको राजनैतिक लाइन हो । यो विचारलाई समाजमा स्थापित गर्न सकेमात्र मुलुकमा स्थायित्व कायम हुन्छ भन्ने हाम्रो विश्वास हो,’ गौचनको निष्कर्श छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
