राप्रपामा असन्तुष्टि चुलियो, अध्यक्ष लिङ्देनको राजीनामा माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र असन्तुष्टि चुलिएको छ। असन्तुष्ट पक्षको बैठकले आइतबार विज्ञप्ति जारी गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनको तत्काल राजीनामा माग गरेको छ।
विज्ञप्तिमा हालै सम्पन्न संसदीय निर्वाचनमा पार्टीले ‘अकल्पनीय तर नकारात्मक’ नतिजा भोगेको उल्लेख गर्दै त्यसको नैतिक जिम्मेवारी नेतृत्वले राजीनामा दिनुपर्ने भनिएकाे छ । निर्वाचनमा कमजोर प्रदर्शन भएको डेढ महिना बित्न लाग्दा पनि कुनै समुचित समीक्षा, लेखाजोखा वा जिम्मेवारी वहन नगरेको भन्दै असन्तुष्ट पक्षले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेको हो।
बैठकमा महामन्त्रीद्वय डा. धवलशम्शेर जबरा र प्रल्हाद शाह, बागमती प्रदेश प्रमुख विक्रम थापा, कार्यसम्पादन समिति सदस्यहरु अर्जुन राई, नारायण काेइराला, कर्णबहादुर शाहीलगायत थिए ।
बैठकले देशभरका नेता-कार्यकर्ता अन्योलमा परेको र पार्टीभित्र निराशा बढ्दो रहेको निष्कर्ष निकालेकाे छ । नेता तथा कार्यकर्ताहरूले पार्टी जिम्मेवारी र सदस्यता त्याग्ने क्रम बढिरहेको पनि विज्ञप्तिमा उल्लेख छ।
उपसभामुख निर्वाचनमा उम्मेदवारी दिएको विषयलाई समेत असन्तुष्ट पक्षले विवादास्पद भन्दै आलोचना गरेको छ। उक्त निर्णय पार्टीका आधिकारिक निकायमा पर्याप्त छलफल नगरी गरिएको भन्दै विधि, प्रक्रिया र प्रजातान्त्रिक अनुशासन उल्लंघन भएको असन्तुष्ट पक्षकाे आरोप छ ।
असन्तुष्ट पक्षले पार्टी अहिले ‘सच्चिने कि सकिने’ मोडमा पुगेको निष्कर्ष निकाल्दै ताजा जनादेशका लागि केन्द्रीय महाधिवेशनकाे माग गरेकाे छ ।
पार्टीको वर्तमान कार्यसमितिकाे नियमित कार्यकाल सकिएको र अतिरिक्त अवधिमा रहेको सन्दर्भमा आगामी जेठभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णय कार्यान्वयन गर्न पनि दबाब दिएको छ।
विज्ञप्तिमार्फत असन्तुष्ट पक्षले चार बुँदे माग अघि सारेको छ। जसमा अध्यक्ष लिङ्देनको राजीनामा, निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन, एक हप्ताभित्र महाधिवेशनको मिति घोषणा र पार्टीभित्र भएका गतिविधिको छानबिनका लागि समिति गठन गर्नुपर्ने उल्लेख छ।
असन्तुष्ट पक्षले पार्टीलाई पुनर्जीवन दिन नयाँ नेतृत्व आवश्यक रहेको भन्दै समयमै गम्भीर निर्णय लिन नेतृत्वलाई आग्रह गरेको छ।
