९ जना पक्राउ
काठमाडौं। मलेसियाको अध्यागमन विभागले आप्रवासी कामदारका नक्कली कागजात तयार गरेको आरोपमा ३ नेपालीसहित ९ जनालाई पक्राउ गरेको छ।
विभागले राजधानी क्वालालम्पुर आसपासका ६ स्थानमा सोमबार र मंगलबार सञ्चालन गरेको कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा ३ नेपाली, ३ भारतीय, १ बङ्गलादेशी, १ मलेसियाली पुरुष र १ भियतनामी महिला (कम्पनी निर्देशक) रहेका छन्। उनीहरूको उमेर २६ देखि ६१ वर्षको बीचमा रहेको जनाइएको छ।
अध्यागमन विभागका महानिर्देशक जाकारिया शअबानका अनुसार उक्त गिरोह करिब ७ वर्षदेखि सक्रिय रहेको थियो। सार्वजनिक सूचना र सञ्चार माध्यमका आधारमा करिब ६ महिनासम्म गरिएको अनुसन्धानपछि कारबाही गरिएको उनले बताए।
उनका अनुसार सो समूहले यस अवधिमा करिब १० करोड मलेसियन रिङ्गेट बराबरको अवैध आम्दानी गरेको अनुमान गरिएको छ। उनीहरूबाट ई-पास, सुरक्षा स्टिकर तथा सम्बन्धित स्लिपसहितका अध्यागमनसम्बन्धी नक्कली तथा परिमार्जित कागजात बरामद गरिएको छ।
त्यसैगरी विभिन्न देशका १११ वटा राहदानी, १० थान ल्यापटप, ६ थान मोबाइल फोन र करिब ४ हजार रिङ्गेट नगद पनि बरामद गरिएको जनाइएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार उक्त गिरोहले अवैध रूपमा विदेशी नागरिकलाई मलेसिया भित्र्याउने कार्यसमेत गर्दै आएको हुनसक्ने देखिएको छ। प्रत्येक व्यक्तिबाट ५ हजारदेखि ६ हजार रिङ्गेटसम्म असुल्ने गरिएको खुलेको अधिकारीहरूले बताएका छन्।
