`

शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

Nepal One HD २ वैशाख २०८३ १९:२१
राजनीति

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनबीच बुधबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको उक्त भेटवार्तामा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउँदै शिक्षा र खेलकुदका क्षेत्रमा नयाँ रणनीतिक सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

भेटका क्रममा विशेषगरी नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्ने लक्ष्य राखेको’ अटिजम स्कुल’ को अवधारणा र कार्यान्वयनका विषयमा महत्त्वपूर्ण परामर्श भएको छ ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले अटिजम भएका बालबालिकाहरूका लागि गुणस्तरीय शिक्षा र उचित वातावरण तयार गर्न बेलायत सरकारको प्राविधिक सहयोग, स्रोत व्यवस्थापन र दक्ष जनशक्ति विकासमा सहकार्यका लागि आग्रह गरेका छन् ।

यस्तै, मन्त्री पोखरेलले नेपाली शिक्षकहरूको पेशागत क्षमता विकासलाई मन्त्रालयले प्राथमिकतामा राखेको उल्लेख गर्दै यसमा बेलायतको आधुनिक शिक्षण पद्धति र अनुभव फलदायी हुने विश्वास व्यक्त गरे ।भेटमा नेपाल र बेलायतबीचको दुई शताब्दी लामो द्विपक्षीय सम्बन्धको स्मरण गर्दै शिक्षा क्षेत्रमा बेलायतले पु¥याउँदै आएको निरन्तर सहयोगको मन्त्री पोखरेलले प्रशंसा गरे ।

उनले भने, ‘नेपालको शैक्षिक रुपान्तरण र शिक्षकहरूको कार्यकुशलता अभिवृद्धिमा बेलायत सरकारको भूमिका सधैं सराहनीय छ, आगामी दिनमा यो सहकार्य अझै व्यापक हुने अपेक्षा राखेका छौँ ।’राजदूत रब फेनले नेपालको शैक्षिक विकास र खेलकुद क्षेत्रको प्रवद्र्धनमा बेलायत सरकार सधैं सकारात्मक रहेको बताए । उनले नेपालमा ’ट्रान्सनेसनल एजुकेशन’
(अन्तरदेशीय शिक्षा) को सम्भावना र यसले नेपाली विद्यार्थीहरूलाई विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने विषयमा चासो व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *