`

वन्यजन्तु सप्ताह विविध कार्यक्रमसहित मनाइँदै

Nepal One HD ४ वैशाख २०८३ १५:२३
पर्यटन

काठमाडौं। एकतिसौँ राष्ट्रिय वन्यजन्तु सप्ताह विभिन्न कार्यक्रमसहित मनाइँदै छ। यही वैशाख १ गतेदेखि सुरु भएको सप्ताह चितवन राष्ट्रिय निकुञ्ज तथा सरोकारवालाहरूको सहभागितामा विभिन्न कार्यक्रममार्फत सञ्चालन भइरहेको छ।

यसै क्रममा आज सिमसार तथा नदी सरसफाइ कार्यक्रम गरिएको छ। सौराहादेखि गोलाघाटसम्म र नारायणी नदीको पश्चिमी किनार क्षेत्र सरसफाइ गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो। उहाँका अनुसार सिमसार क्षेत्र र नदी सरसफाइले वन्यजन्तुका लागि आवश्यक पानी स्रोत संरक्षणमा सहयोग पुग्ने भएकाले हरेक वर्ष यो कार्यक्रम गरिँदै आएको हो।

यसअघि वैशाख २ गते चरा अवलोकन कार्यक्रम, ३ गते प्लास्टिक निषेधित क्षेत्र घोषणा कार्यान्वयनसम्बन्धी सरोकारवालासँग छलफल गरिएको थियो।

त्यस्तै, वैशाख ५ गते मानव-वन्यजन्तु सहअस्तित्वसम्बन्धी छलफल तथा अन्तरक्रिया, ६ गते विद्यालयस्तरीय चित्रकला प्रतियोगिता तथा वन्यजन्तुबाट टुहुरा भएका बालबालिकालाई छात्रवृत्ति वितरण, र ७ गते वन्यजन्तु बासस्थान व्यवस्थापनसम्बन्धी स्थलगत जागरण तथा अन्तरक्रिया गरिने कार्यक्रम रहेको छ।

सूचना अधिकारी थापामगरका अनुसार वन्यजन्तु सप्ताहले वन्यजन्तु र सिमसार क्षेत्रले मानव जीवनमा पार्ने प्रभावबारे जनचेतना बढाउँदै संरक्षणतर्फ अभिप्रेरित गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *