`

नेपाललाई एआईको विश्व केन्द्र बनाउन एमचामको पहल

Nepal One HD ७ वैशाख २०८३ १२:२९
अर्थ समाचार

काठमाडौं। नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स, ब्लकचेन र क्रिप्टो-ड्रिभन कम्प्युटिङजस्ता भविष्यउन्मुख डिजिटल पूर्वाधारको विश्वव्यापी केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित ‘अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (एमचाम नेपाल)’ ले आफ्नो ‘वासिङ्टन डोर नक’ कार्यक्रम सम्पन्न गरेको छ।

नेपालको आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण मानिएको यस भ्रमणका क्रममा एमचाम टोलीले अमेरिकी सरकारका विभिन्न निकाय तथा निजी क्षेत्रका उच्च अधिकारीहरूसँग रणनीतिक छलफल गरेको जनाएको छ।

कार्यक्रममा विशेषगरी ‘हाइड्रो-टु-डाटा’ अवधारणामा जोड दिइएको छ। यस अवधारणाअनुसार नेपालको प्रचुर जलविद्युत स्रोतलाई प्रयोग गरी विश्वव्यापी रूपमा बढ्दो डाटा प्रोसेसिङ, एआई कम्प्युटेसन र ब्लकचेन प्रविधिको ऊर्जा माग पूरा गर्न सकिने प्रस्ताव अघि सारिएको छ।

मोघा इनर्जीका अध्यक्ष सम्रथ मोघाले नेपाललाई केवल ऊर्जा निर्यातकर्ता मात्र नभई भविष्यको डिजिटल अर्थतन्त्रको केन्द्र बनाउन सकिने बताएका छन्। उनका अनुसार नेपालमा सस्तो र नवीकरणीय ऊर्जा उपलब्ध भएकाले यहाँ हाइपरस्केल डाटा सेन्टर र एआई ट्रेनिङ पूर्वाधार विकास गर्न सम्भावना छ।

भ्रमणका क्रममा युएस इनर्जी एसोसिएसनसँगको सहकार्यमा आगामी दिनमा ‘युएस-नेपाल इनर्जी रोड शो’ आयोजना गर्ने सहमति भएको छ। साथै डिभलपमेन्ट फाइनान्स कर्पोरेसनसँग सम्भावित लगानी संयन्त्रबारे छलफल भएको र एआई तथा क्रिप्टो पूर्वाधारमा लगानी आकर्षित गर्न नियामक स्पष्टता आवश्यक रहेको विषयमा जोड दिइएको छ।

एमचाम नेपालका प्रतिनिधिमण्डलले अमेरिकी विदेश मन्त्रालय, ऊर्जा मन्त्रालय, वाणिज्य मन्त्रालय, युएस ट्रेड एन्ड डेभलपमेन्ट एजेन्सी तथा अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगमसँग समेत छलफल गरेको जनाएको छ।

संस्थाले नेपाल सरकारलाई लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र नियामक अवरोध हटाउन आग्रह गरेको छ। संस्थापक अध्यक्ष अजित विक्रम शाहले नेपालले अब सहायताबाट व्यापारतर्फ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

भ्रमणका क्रममा टोलीले विश्व बैंक, एसियाली विकास बैंक तथा अमेरिकी संसद्का सदस्यहरूसँग पनि भेटघाट गरी नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध र व्यापार विस्तारबारे छलफल गरेको जनाएको छ।

नेपाल अहिले स्वच्छ ऊर्जा उत्पादन र डिजिटल अर्थतन्त्र विस्तारको महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै एमचामले दीर्घकालीन लगानी र पूर्वाधार विकासले देशको आर्थिक भविष्यलाई नयाँ दिशामा लैजान सक्ने दाबी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *