रन्जु प्याकुरेलले छाडिन् राप्रपा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ रन्जु प्याकुरेलले पार्टी छाडेकी छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई स्वेच्छाचारी ढंगले चलाएको, पार्टीलाई विघटनतिर लगेको, महाधिवेशन नगरेको जस्ता गम्भीर आरोपको सामना गरिरहँदा प्याकुरेलले पार्टी छाडेकी हुन् ।
उनी लिङ्देनकै गृहजिल्ला झापाकी नेतृ हुन् । सामाजिक सञ्जालमार्फत उनले आफूले लामो समयदेखि आबद्ध रहेको पार्टीसँगको सम्बन्ध अन्त्य गरेको जानकारी दिएकी हुन्।
प्याकुरेल राप्रपाको बिर्तामोड नगर अध्यक्षको जिम्मेवारी सम्हालिसकेकी नेतृ हुन्। उनी पार्टीभित्र स्पष्ट वक्ता नेतृका रूपमा परिचित थिइन्। लामो राजनीतिक यात्राका क्रममा उनले राप्रपाबाट राष्ट्रिय सभाको निर्वाचनमा समेत उम्मेदवारी दिएकी थिइन्।
विद्यार्थी राजनीतिबाट उदाएकी प्याकुरेल प्रारम्भिक चरणमा अनेरासोवियु सँग आवद्ध थिइन्। नेकपा एमाले निकट विद्यार्थी संगठनमार्फत राजनीति सुरु गरेकी उनी पछिल्लो समय राप्रपामा सक्रिय रहँदै आएकी थिइन्।
स्थानीय तह निर्वाचनमा उनले बिर्तामोड नगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएकी थिइन्, तर उक्त निर्वाचनमा पराजित भएकी थिइन्।
प्याकुरेलले पार्टी परित्यागको कारणबारे विस्तृत खुलासा गरेकी छैनन्। तर, उनको यस निर्णयले स्थानीय राजनीतिक वृत्तमा चर्चा उत्पन्न गरेको छ।
राप्रपाभित्रको आन्तरिक अवस्था, नीति तथा नेतृत्वप्रति असन्तुष्टि वा अन्य कुनै कारणले उनले यस्तो कदम चालेको हुनसक्ने अनुमान गरिएको छ।
