`

७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

Nepal One HD ७ वैशाख २०८३ १६:४९
प्रमुख खबर

काठमाडौं। जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्प सानरिकु तटबाट करिब १०० किलोमिटर टाढा र १० किलोमिटर गहिराइमा गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पपछि जापानी प्रधानमन्त्री साने ताकाचीले प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थान तथा अग्ला भूभागमा सर्न आग्रह गरेका छन् ।

जापानका अधिकारीहरूले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुनामीको चेतावनीसमेत जारी गरेका छन् । स्थानीय मिडिया रिपोर्टका अनुसार सुनामीको पहिलो छाल इवाते प्रिफेक्चरमा पुग्न थालेको छ । मियाको बन्दरगाहमा करिब ४० सेन्टिमिटर उचाइको छाल रेकर्ड गरिएको जनाइएको छ ।

त्यसैगरी, जापानको मुख्य टापुको उत्तरी भागमा रहेको आओमोरी प्रिफेक्चरको तट नजिक पनि सुनामी देखिएको बताइएको छ । जापानी मौसम विज्ञान एजेन्सीले होक्काइडो र इवाते प्रान्तको प्रशान्त तटीय क्षेत्रमा करिब ३ मिटर अग्ला सुनामी छाल आउन सक्ने अनुमान गरेको छ ।

अधिकारीहरूले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक सुरक्षा अपनाउन आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *