`

१३७ औँ मजदुर दिवस : वर्गीय यथार्थ कथित जनविश्वास

डि.बि. सर्वश्रेष्ठ १८ वैशाख २०८३ १८:११
अन्तर्वार्ता/बिचार

मानव समाजको इतिहासलाई एउटा धागोमा गाँस्ने हो भने त्यो धागो वर्गसंघर्षकै हुन्छ।

उत्पादनका साधनमाथिको स्वामित्व र श्रमको वितरणमा रहेको असमानताले जन्माएको अन्तरविरोध नै समाज विकासको मुख्य चालक शक्ति रहँदै आएको छ। आदिम सामूहिक समाजको विघटनसँगै सुरु भएको निजी स्वामित्वको यात्रा दासप्रथा, सामन्तवाद हुँदै आजको पूँजीवादी व्यवस्थासम्म आइपुग्दा स्वरूप फेरिए पनि सार उही छ- श्रम गर्ने वर्गमाथि शोषण।

यही ऐतिहासिक यथार्थको पृष्ठभूमिमा सन् १८८६ को शिकागो मजदुर विद्रोहलाई बुझ्नुपर्छ। आठ घण्टा कामको माग केवल श्रम समय घटाउने आर्थिक सवाल थिएन; त्यो राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकारको समग्र उद्घोष थियो। मजदुर वर्गले पहिलोपटक विश्वलाई स्पष्ट सन्देश दिएको थियो- उत्पादन गर्ने शक्ति नै समाज सञ्चालनको वास्तविक आधार हो। त्यसैले १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउँदा यो केवल स्मरणको क्षण होइन; वर्तमानको समीक्षा र भविष्यको दिशा निर्धारण गर्ने ऐतिहासिक अवसर पनि हो।

नेपालको वर्तमान अवस्थालाई नियाल्दा मजदुर दिवसको सान्दर्भिकता झन् तीव्र रूपमा महसुस हुन्छ। एकातिर विकास, समृद्धि र रूपान्तरणका आकर्षक नाराहरू छन्; अर्कोतिर श्रमिक वर्गको जीवन यथार्थ झन् जटिल बन्दै गएको छ। सुकुम्बासी बस्तीमाथि गरिएको डोजर हस्तक्षेपले राज्यको प्राथमिकता स्पष्ट पार्छ।  यो विकासको नाममा गरिबको विस्थापन हो। यो केवल भौतिक संरचना भत्काउने कार्य होइन; यो सामाजिक सुरक्षा, मानव अधिकार र जीवनको आधारमाथिको प्रत्यक्ष प्रहार हो।

ट्रेड युनियनमाथि प्रतिबन्ध वा विघटनको प्रयासले राज्यको वर्गीय चरित्र अझ प्रस्ट हुन्छ। जब श्रमिकहरू संगठित भएर आफ्ना अधिकारको माग गर्छन्, तब राज्य संयन्त्र दमनकारी बन्छ। कानुन, प्रशासन, प्रहरी र शक्ति संरचनाहरू तटस्थ देखिए पनि व्यवहारमा ती विशेष वर्गको हित रक्षा गर्न प्रयोग भइरहेका हुन्छन्। लेनिनले राज्यलाई ‘एक वर्गले अर्को वर्गमाथि शासन गर्ने औजार’ भनेका थिए। नेपालको वर्तमान परिदृश्यले यस कथनलाई व्यवहारिक रूपमा पुष्टि गरिरहेको छ।

पछिल्लो समयको अर्को महत्वपूर्ण पक्ष भनेको जनताको राजनीतिक मनोविज्ञानमा आएको परिवर्तन हो। दशकौँदेखि पुराना पार्टीहरूद्वारा सञ्चालित राजनीतिका वाचा र व्यवहारबीचको अन्तर र निरन्तर दोहोरिएको असफलताले जनतामा गहिरो निराशा र थकान पैदा गरेको छ। यही थकानको जमिनमा नयाँ राजनीतिक शक्तिहरूको उदय  भयो भन्न कुनै अप्ठ्यारो पर्ने स्थिति छैन। तर समस्या के छ भने नाम र अनुहार नयाँ भए पनि संरचना र वर्गीय चरित्र उही दोहोरिने प्रवृत्ति देखिएको छ।

नयाँ भन्ने आवरणभित्रै निरंकुशता, केन्द्रीकृत निर्णय प्रक्रिया र जनउत्तरदायित्वहीन अभ्यासहरू बढिरहेका छन्। यसले देखाउँछ समस्या केवल व्यक्तिको होइन- प्रणालीको हो। जबसम्म उत्पादनका साधनमाथि मुठ्ठीभरको नियन्त्रण रहन्छ, तबसम्म राजनीति पनि त्यही वर्गले कब्जा गर्छ। यही सन्दर्भमा ‘दलाल पूँजीवाद’ को अवधारणा झन् प्रासंगिक बन्छ, जहाँ राष्ट्रिय स्रोत, श्रम र नीति निर्माण बाह्य तथा सीमित स्वार्थसँग गाँसिन्छ र श्रमिक वर्ग निरन्तर हाशियामा धकेलिन्छ।

श्रमको मूल्य घट्दै गएको छ, रोजगारी अस्थिर छ, वैदेशिक पलायन बढिरहेको छ, र उत्पादनभन्दा उपभोगमुखी अर्थतन्त्रलाई बलियो बनाइएको छ। यसले श्रमिक वर्गलाई केवल श्रम बेच्न बाध्य बनाउँछ तर उत्पादनमाथि कुनै नियन्त्रण दिँदैन। फलतः आर्थिक असमानता मात्र होइन, सामाजिक र राजनीतिक असन्तुलन पनि बढ्दै जान्छ। आजको नेपाली समाजको राजनीतिक र आर्थिक प्रवृत्ति यही हो।

यस्तो परिस्थितिमा केवल सुधारवादी उपायहरूले दीर्घकालीन समाधान दिन सक्दैनन्। इतिहासले देखाएको छ- जब अन्तरविरोध निश्चित सीमा पार गर्छ, तब गुणात्मक परिवर्तन आवश्यक हुन्छ। मार्क्सवादी दर्शनले यही परिवर्तनलाई वैज्ञानिक रूपमा व्याख्या गर्दछ। वर्गसंघर्ष केवल विरोधको प्रक्रिया होइन; यो नयाँ सामाजिक संरचना निर्माणको आधार पनि हो।

मजदुर वर्गका अगाडि आज पनि तीन आधारभूत कार्यभार उभिएका छन्:
पहिलो, वैज्ञानिक विचारमा आधारित वर्गीय चेतनाको विकास र संगठन।
दोस्रो, संघर्षलाई योजनाबद्ध, अनुशासित र व्यापक बनाउँदै लैजानु।
तेस्रो, उत्पादन र सत्ता संरचनामा श्रमिक वर्गको नेतृत्व स्थापित गर्दै वैज्ञानिक समाजवादी व्यवस्थाको निर्माण गर्नु।

यहाँ एउटा कुरा स्पष्ट हुनुपर्छ। समाजवाद केवल आर्थिक पुनर्वितरणको कार्यक्रम होइन ।  यो समग्र सामाजिक रूपान्तरणको प्रक्रिया हो। यसले उत्पादन सम्बन्ध, शक्ति संरचना र सांस्कृतिक चेतनालाई समेत परिवर्तन गर्दछ। त्यसैले यसको निर्माणका लागि केवल भावनात्मक आक्रोश होइन, सुस्पष्ट विचार, संगठनात्मक क्षमता र दीर्घकालीन रणनीति आवश्यक हुन्छ।

नेपालमा यसको सम्भावना पनि उत्तिकै बलियो छ। जनतामा असन्तोष छ । विकल्पको खोजी छ । परिवर्तनप्रतिको आकांक्षा जीवित छ। तर यही सम्भावनालाई परिणाममा रूपान्तरण गर्न सकिने वा नसकिने कुरा नेतृत्व, संगठन र विचारको स्पष्टतामा निर्भर गर्छ।

अन्ततः १३७औँ मजदुर दिवसको सन्देश यही हो। यो दिन केवल अतीतको सम्झना होइन, वर्तमानको विश्लेषण र भविष्यको तयारीको दिन हो। मजदुर वर्गले आफ्नो ऐतिहासिक भूमिका बुझ्नुपर्छ। भ्रम र आवरणभित्र लुकेको वर्गीय चरित्र चिन्नुपर्छ। संगठित, सचेत र दिशाबद्ध भएर अगाडि बढ्नुपर्छ। किनकि, इतिहासको गति अन्ततः त्यही वर्गले निर्धारण गर्छ- जो उत्पादन गर्छ,संघर्ष गर्छ र  परिवर्तनको जिम्मेवारी उठाउँछ।

विश्वका मजदुरहरू एक होऔँ!
दलाल पूँजीवाद र निरंकुश प्रवृत्तिविरुद्ध सचेत बनौँ!
वैज्ञानिक समाजवादको दिशामा संगठित रूपमा अघि बढौँ!
संसारका मजदुरहरूलाई १३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको हार्दिक क्रान्तिकारी शुभकामना !!!


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *