२ करोड घटे फेसबुक र इन्स्टाग्राम युजर ?
एजेन्सी। लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक र इन्स्टाग्रामका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या करिब दुई करोडले घटेको छ।
फेसबुक र इन्स्टाग्राम फिडको खस्किँदो गुणस्तर, अत्यधिक विज्ञापन र दोहोरिने सामग्रीका कारण प्रयोगकर्ताहरू असन्तुष्ट बन्दै गएका छन्।
प्रयोगकर्ताहरू दिक्क मान्दै यी प्लेटफर्मबाट बाहिरिन थालेपछि मेटाले आफ्नो एल्गोरिदममा व्यापक परिवर्तन सुरु गरेको छ। समाचार अनुसार मेटाको उद्देश्य अब फेसबुक र इन्स्टाग्राममा मौलिक सामग्रीलाई प्राथमिकता दिनु रहेको छ।
प्रयोगकर्ताहरू किन असन्तुष्ट छन्
पछिल्लो समय फेसबुक तथा इन्स्टाग्राममा प्रयोगकर्ताहरूले फिड पहिलेजस्तो नभएको गुनासो गर्दै आएका छन्। फिडमा अत्यधिक विज्ञापन, प्रायोजित पोस्ट, बारम्बार दोहोरिने सामग्री र एल्गोरिदममा आधारित सिफारिस गरिएका पोस्टहरू धेरै देखिन थालेका छन्।
यसका कारण साथीहरू र फलो गरिएका अकाउन्टका पोस्ट कम देखिन थालेका छन्। धेरै प्रयोगकर्ताहरूको भनाइ अनुसार सामाजिक सञ्जाल अब सामाजिकभन्दा पनि एल्गोरिदमबाट सञ्चालित मनोरञ्जन प्लेटफर्म जस्तो बनेको छ।
विशेषज्ञहरूका अनुसार मेटाले प्रयोगकर्ता संलग्नता बढाउन सिफारिस गरिएका सामग्रीमा बढी ध्यान दिएको छ, तर यसले प्रयोगकर्ताको अनुभवमा नकारात्मक असर पारेको छ।
मेटाको आम्दानी मोडेल विज्ञापनमा आधारित भएकाले प्रायोजित विज्ञापन र प्रमोशनल सामग्रीको अत्यधिक प्रयोगले प्रयोगकर्तालाई झनै असन्तुष्ट बनाएको छ।
बढ्दो आलोचनापछि मेटाले अब आफ्नो सिफारिस एल्गोरिदममा परिवर्तन गर्ने तयारी गरेको छ। इन्स्टाग्राममा मौलिक कन्टेन्टलाई बढी प्राथमिकता दिइनेछ भने रिपोस्ट गरिएका र कम मौलिक सामग्रीको पहुँच घटाइनेछ।
कपी-पेस्ट गरिएका र नक्कल गरिएका अकाउन्टहरूको भिजिबिलिटी पनि कम गरिने बताइएको छ।
फेसबुकमा पनि कन्टेन्ट र्याङ्किङ र फिड डिस्प्ले प्रणाली सुधार गर्ने तयारी भइरहेको छ।
