`

श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ऋण ठगी गरेको आरोपमा श्रीमतीसहित दुई जना पक्राउ

Nepal One HD २७ वैशाख २०८३ १३:०४
अपराध

कास्की। श्रीमानको हस्ताक्षर र औँठाछाप किर्ते गरी जग्गा धितो राखेर बैंकबाट ऋण लिई ठगी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३० ढुङ्गेपाटन बस्ने ४४ वर्षीया वन्ती शाही र सुर्खेतको चौकुने गाउँपालिका–४ स्थायी घर भई हाल पोखरा–१० बुद्धचोक बस्ने ४४ वर्षीय भद्रबहादुर थापा मगर रहेका छन्।

ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको टोलीले उनीहरूलाई वैशाख २५ गते पक्राउ गरेको हो।

प्रहरीका अनुसार ढुङ्गेपाटन बस्ने ५२ वर्षीय मोहनबहादुर शाहीको नाममा दर्ता रहेको पोखरा–३० स्थित कित्ता नं २४४४ र २४४७ को जग्गा श्रीमती वन्ती शाही र भद्रबहादुर थापाले मिलेमतोमा धितो राखेका थिए। उनीहरूले जग्गाधनी मोहनबहादुरको नक्कली सहीछाप तयार गरी सिद्धार्थ बैंक लिमिटेड, तालचोक शाखाबाट ५० लाख रुपैयाँ ऋण लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

आफ्नो मञ्जुरी र जानकारी बिना जग्गा धितो राखेर ऋण निकालिएको थाहा पाएपछि पीडित मोहनबहादुर शाहीले प्रहरीमा जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी मुद्दामा ५ दिनको म्याद थप गरिएको छ। इलाका प्रहरी कार्यालय शिशुवाले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *