बुर्लाकोटीको ठोकुवा : ‘लामिछाने नै रास्वपाको सभापति बन्नुहुन्छ’
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको आसन्न महाधिवेशनबाट रवि लामिछानेनै पुनः सभापति बन्ने बताएका छन् ।
रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवन मा हुँदैछ । असार ७ गते पार्टीको स्थापना दिवससमेत पर्ने भएकाले सोही अवसर पारेर महाधिवेशन आयोजना गर्न लागिएको हो ।
महामन्त्री बुर्लाकोटीले महाधिवेशनको तयारी तीव्र गतिमा अघि बढिरहेको जानकारी दिँदै विभिन्न उपसमिति गठन गर्ने काम भइरहेको बताए ।
चितवनलाई महाधिवेशन स्थल रोज्नुको कारणबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले चितवनलाई पार्टीको ‘इपिसेन्टर’ तथा देशकै भौगोलिक केन्द्रविन्दुका रूपमा व्याख्या गरे ।
उनले भने, ‘चितवन भनेको सबैतिरको मध्यभागजस्तो हो । पार्टीको इपिसेन्टरका रूपमा पनि रहेको छ । यहाँबाट पार्टीलाई धेरै मत आएको छ । सभापतिले चुनाव जित्नुभएको हिसाबले पनि चितवन नै उपयुक्त ठानियो ।’
पार्टी सभापतिमा लामिछाने पुनः दोहोरिने सम्भावनाबारे सोधिएको प्रश्नमा बुर्लाकोटीले स्पष्ट रूपमा ‘यसमा कुनै शंका छैन । रवि लामिछाने नै सभापति बन्नुहुने हो’ भन्ने प्रतिक्रिया दिएका छन् ।
लामिछानेको विकल्प पार्टीभित्र छैन त भन्ने प्रश्नमा उनले पार्टीमा अन्य सक्षम नेताहरू पनि रहेको बताए । तर अहिलेको आवश्यकता पदका लागि प्रतिस्पर्धा वा आन्तरिक हानाथापभन्दा पार्टीलाई एकताबद्ध बनाएर देशलाई निकास दिने रहेको उनको भनाइ थियो ।
उनले भने, ‘विकल्प त नहुने होइन, पार्टीमा धेरै नेताहरू हुनुहुन्छ । तर यदि पार्टी एक ढिक्का छ भने यसले देशलाई निकास दिन सक्छ । नेताहरू को-को हुने भनेर हानाथाप गर्नेभन्दा पनि निकास दिने कुरा महत्वपूर्ण हो ।’
यस्तै प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) रास्वपाको कुन पदमा उठ्ने भन्ने विषयमा भने पार्टीभित्र अहिलेसम्म कुनै औपचारिक छलफल नभएको बुर्लाकोटीले बताए।
