`

पृथ्वीको दुईवटा उपग्रह भएको भए…?

समीन बरुवाल २ जेठ २०८३ २०:५४
फिचर

काठमाडौं। पृथ्वी र यसको प्राकृतिक उपग्रह चन्द्रमाबीचको सम्बन्ध सौर्यमण्डलमै सबैभन्दा विशेष र असामान्य प्रणालीमध्ये एक मानिन्छ।

वैज्ञानिकहरूका अनुसार चन्द्रमाको उत्पत्ति ‘विशाल टक्कर सिद्धान्त’ अर्थात् गाइन्ट इम्प्याक्ट हाइपोथेसिस मार्फत भएको भनेर व्याख्या गरिन्छ। यस सिद्धान्त अनुसार प्रारम्भिक पृथ्वी र मंगल ग्रह जत्तिकै ठूलो प्रोटोप्लानेट थिया बीच करिब ४.५ अर्ब वर्षअघि भीषण टक्कर भएको थियो। 

उक्त टक्करपछि पृथ्वीको बाहिरी तह र थियाको केही भाग अन्तरिक्षमा उछिट्टियो।  जुन समयसँगै गुरुत्वाकर्षणका कारण एकत्रित भएर चन्द्रमा बनेको हो।

यस प्रक्रियाले पृथ्वी-चन्द्रमा प्रणालीलाई विशेष बनाएको छ। चन्द्रमा पृथ्वीको आकारको तुलनामा सौर्यमण्डलका अन्य ग्रहहरूको चन्द्रमाको तुलनामा असामान्य रूपमा ठूलो छ। पृथ्वी र चन्द्रमाको रासायनिक संरचनामा समानता देखिन्छ।  जसले दुवै एउटै मूल पदार्थबाट बनेको संकेत दिन्छ।

यदि पृथ्वीको दुईवटा उपग्रह भएको भए ? 

चन्द्रमाको कक्षा तुलनात्मक रूपमा स्थिर छ। जसले दीर्घकालीन रूपमा पृथ्वीको प्रणालीलाई स्थायित्व प्रदान गरेको छ। सैद्धान्तिक रूपमा कुनै ग्रहमा दुई समान आकारका चन्द्रमाहरू हुन सक्ने सम्भावना भौतिक नियमहरूले पूर्ण रूपमा निषेध गर्दैनन्। व्यवहारमा यस्तो प्रणाली अत्यन्तै दुर्लभ र दीर्घकालीन रूपमा अस्थिर मानिन्छ।

यसको मुख्य कारण गुरुत्वीय अन्तरक्रिया हो। जसमा दुई ठूला चन्द्रमाहरूले एकअर्काको कक्षामा निरन्तर प्रभाव पार्छन्, जसले कक्षीय असन्तुलन सिर्जना गर्न सक्छ।

समयसँगै यस्तो प्रणालीमा कक्षीय प्रतिस्पर्धा उत्पन्न हुन सक्छ। यसको परिणामस्वरूप एउटा चन्द्रमा बाहिर निस्कन सक्छ, ग्रहमा खस्न सक्छ वा अर्को चन्द्रमासँग टक्कर हुन सक्छ। साथै ग्रहसँग हुने ज्वारभाटा प्रभावले पनि ऊर्जा आदानप्रदान गराउँदै दीर्घकालीन रूपमा एउटा चन्द्रमालाई स्थिर र अर्को चन्द्रमालाई अस्थिर बनाउन सक्छ।

यही कारणले दुई ठूला र समान आकारका चन्द्रमाहरू दीर्घकालसम्म एउटै ग्रह वरिपरि स्थिर रहनु कठिन मानिन्छ।

पृथ्वीको चन्द्रमा विशेष मानिनुका कारणहरू वैज्ञानिक रूपमा महत्वपूर्ण छन्।

चन्द्रमाले पृथ्वीको अक्षीय झुकावलाई स्थिर राख्न सहयोग गर्छ। जसले दीर्घकालीन जलवायु सन्तुलन कायम राख्न मद्दत गर्छ। यदि चन्द्रमा नहुँदो हो भने पृथ्वीको झुकाव धेरै अस्थिर हुने र जलवायु अत्यधिक परिवर्तनशील हुने सम्भावना रहने वैज्ञानिक मोडेलहरूले देखाएका छन्।

चन्द्रमाले समुद्री ज्वारभाटा सिर्जना गर्छ। जसले प्रारम्भिक समुद्री जीवनको विकासमा ऊर्जा र मिश्रण प्रक्रिया प्रदान गरेको मानिन्छ। यसले समुद्री पारिस्थितिक प्रणालीको विकासमा पनि अप्रत्यक्ष रूपमा योगदान दिएको छ।

चन्द्रमाको उपस्थितिले पृथ्वीको घूर्णन गति क्रमशः घटाउँदै दिन-रातको चक्रलाई स्थिर बनाउन भूमिका खेलेको अनुमान गरिन्छ। प्रारम्भिक पृथ्वीमा एक दिन धेरै छोटो रहेको र समयसँगै चन्द्रमाको गुरुत्वीय प्रभावले त्यो अवधि बढ्दै अहिलेको अवस्थामा पुगेको वैज्ञानिक अध्ययनहरूले देखाउँछन्।

यिनै कारणले पृथ्वी-चन्द्रमा प्रणालीलाई केही वैज्ञानिक र लेखकहरूले विशेष ग्रह प्रणालीका रूपमा व्याख्या गरेका छन्। ह्यु रसको ‘इम्प्रोबेबल प्लानेट: हाउ अर्थ बिकेम ह्युम्यानिटीज होम’ जस्ता कृतिहरूमा पृथ्वीलाई जीवनका लागि अत्यन्त अनुकूल बनाउन विभिन्न खगोलीय परिस्थितिहरूको संयुक्त भूमिका रहेको दाबी गरिन्छ।

यद्यपि यी सबै व्याख्याहरूमा वैज्ञानिक समुदायमा पूर्ण एकमत भने छैन। विशेषगरी जीवन उत्पत्तिमा प्रत्येक कारकको योगदान कति हो भन्ने विषयमा निरन्तर अनुसन्धान र बहस भइरहेको छ।

ब्रह्माण्डमा चन्द्रमाहरू सामान्य रूपमा पाइन्छन्। तर पृथ्वी जस्तो ठूलो, स्थिर र प्रभावकारी चन्द्रमासहितको प्रणाली भने दुर्लभ मानिन्छ।

दुई समान आकारका चन्द्रमाहरू भएको ग्रह भौतिक रूपमा असम्भव होइन।  तर दीर्घकालीन स्थिरता कायम राख्न अत्यन्त कठिन हुन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *