६५ भ्रष्टाचार काण्ड छानबिन गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको दबाब
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देशमा चर्चित बनेका ६५ वटा भ्रष्टाचार तथा अनियमितता सम्बन्धी प्रकरणको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
शाहीले सामाजिक सञ्जालमार्फत सम्पूर्ण नेपालीलाई उक्त सन्देश धेरैभन्दा धेरै सेयर गर्न अपिल गर्दै सरकार र प्रधानमन्त्रीलाई सुशासन, पारदर्शिता तथा भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सचेत गराउन आग्रह गरेका हुन्।
उनले वर्तमान सरकारले देशमा भएका ठूला भ्रष्टाचार काण्डका मुख्य दोषीहरूलाई कानुनी दायरामा ल्याउनेमा आफू आशावादी रहेको उल्लेख गरेका छन्।
शाहीले उल्लेख गरेका चर्चित प्रकरणहरूमाललिता निवास प्रकरण,भुटानी शरणार्थी काण्ड, वाइडबडी, सुडान घोटाला, ३३ किलो सुन काण्ड, मेलम्ची खानेपानी आयोजना विवाद, सेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड, ओम्नी समूह स्वास्थ्य सामग्री खरिद विवाद, टेरामक्स काण्ड, सहकारी घोटाला, एनसेल कर विवाद, कृषि अनुदान घोटाला, रासायनिक मल खरिद घोटालालगायतका विषय समावेश छन्।
त्यस्तै उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ऋण तथा ठेक्का विवाद, कोभिड १९ परीक्षण तथा क्वारेन्टिन खर्च, ट्रिभुवन विमानस्थल सुन तस्करी, नक्कली भ्याट बिल, मेडिकल शिक्षा शुल्क तथा सिट बिक्री विवाद र वैदेशिक रोजगार ठगीजस्ता प्रकरण पनि सूचीमा समेटेका छन्।
शाहीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले राजनीतिक प्रभावभन्दा माथि उठेर निष्पक्ष अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन्।
