रास्वपा सांसदहरूले संविधानविपरीत बोले, सभामुख डीपी अर्याल टुलुटुलु
काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले संविधानविपरीत धारणा राख्दा पनि अन्देखा बनेका छन् ।
उनले रास्वपाका सांसदहरू यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले सोमबार संविधानविपरीत प्रतिनिधि सभा बैठकमा धारणा राख्दा मौन रहे ।
नियमापत्ति जनाउन नमिल्ने विषयमा समय दिँदा दुवैले न्याय निरुपणको सिलसिलामा न्यायाधीशले गरेको न्यायिक कार्यबारे संसदमा प्रश्न उठाएका थिए, जुन संवैधानिक रूपमा वर्जित विषय मानिन्छ । संविधानविपरीत धारणा राख्दा सभामुखले तत्काल रोक्नुपर्ने व्यवस्था रहेको छ ।
संविधानको धारा १०५ मा ‘नेपालको कुनै पनि अदालतमा विचाराधीन मुद्दाका सम्बन्धमा न्याय निरुपणमा प्रतिकूल असर पार्ने विषयमा तथा न्यायाधीशले कर्तव्य पालनाको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा संघीय संसदको कुनै पनि सदनमा छलफल गरिने छैन,’ भन्ने उल्लेख छ ।
तर, कानुन व्यवसायीसमेत रहेका न्यौपाने र बाँस्कोटाले कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधानको आदेशबारे प्रश्न उठाएका थिए ।
मल्लले संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा मनोज शर्मालाई सिफारिस गर्ने निर्णयविरुद्ध रिट दरपिठ भएका निवेदन दर्ता गरी पेसी तोक्न आदेश दिएकी थिइन् ।
सांसदहरूले मल्लप्रति कटाक्ष गर्दै ‘राजनीति गर्ने हो भने कोट खोलेर आउनु’ भन्दै चुनौतीसमेत दिएका थिए ।
न्यायिक निरुपणको प्रक्रियामा रहेका विषयमा संसद्को कुनै पनि सदनमा बोल्न नपाइने संवैधानिक व्यवस्थाविपरीत अभिव्यक्ति दिने दुई सांसदलाई सभामुखले किन नरोकिएको भन्ने प्रश्न अहिले उठिरहेको छ ।
यही विषयमा कानुनका विद्यार्थीसमेत रहेका जेन–जी अगुवा माजिद अन्सारीले कडा टिप्पणी गरेका छन् । उनले यस प्रकरणमा सभामुख डोलप्रसाद अर्यालले पदीय मर्यादा बिर्सिएको भन्दै प्रश्न उठाएका छन् ।
‘माननीयज्यूहरूले संवैधानिक मर्मविपरीत हुने गरी बोलिरहँदा तपाईंले सभामुखको हैसियतले तत्काल रोक्न वा सचेत गराउनुपर्छ कि पर्दैन ?’ माजिदले प्रश्न गरेका छन् ।
उनले थप भनेका छन्, ‘कानुन व्यवसायीकै गरिमा घट्ने गरी कानुन व्यवसायी माननीयहरूले पेशागत मर्यादा संसदभित्र हुँदा पनि बिर्सनु उचित हो त, विद्वान माननीयज्यूहरू ?’
