रास्वपा सांसद पराजुली : सरकारले अरनिको राजमार्ग क्षेत्रमा डोजर आतंक मच्चायो
काठमाडौं । रास्वपाका सांसद भरत पराजुलीले अरनिको राजमार्ग निर्माणका क्रममा सडक र नाला बनेको बाहेकका जग्गाको लगत अझैसम्म कट्टा नगरिएको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सडक सीमाका दायाँ-बायाँका जग्गा नागरिककै नाममा कायम रहेको र उनीहरूले अझै भूमिकर तिरिरहेको बताए ।
उनले भने, ‘राजमार्गको दोलालघाट, सुकुटे, बलेफी, अँधेरी, खाडीचौर, लामोसाँघु, बाह्रबिसे र तातोपानी क्षेत्रमा राजमार्ग निर्माणसँगै बजार विकास भई आर्थिक कारोबारका केन्द्रका रूपमा यी क्षेत्रले जनतालाई सेवा दिइरहेका छन् । बजारका अधिकांश घरहरू पुस्तान्तरण भएर स्वामित्व हस्तान्तरण भएका हुन् । अझै अतिक्रमण भएका होइनन् ।’
सांसद पराजुलीले स्थानीय तहले संघीय सरकारको निर्देशन भन्दै डोजर चलाएर नागरिकलाई त्रसित बनाएको आरोप लगाए ।
उनले भने, ‘यसखालको स्थानीय सरकारको निर्णयबाट नागरिकको संविधान प्रदत्त सम्पत्तिसम्बन्धी हकको हनन हुने अवस्था आएको छ । रणनीतिक राजमार्ग भएकाले यसको विस्तार र स्तरोन्नति हुनुपर्छ । यसमा नागरिकहरूको पूर्ण सहयोग रहन्छ ।’
