संसदमा विद्रोही हर्क
‘हामीले प्रश्न सोध्न नपाउने?’
सञ्चारमन्त्री विक्रम तिमल्सिनाले संसदमा बोल्दै गर्दा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रश्न गरे। त्यसपछि सभामुख डिपी अर्यालले उनलाई बस्न रुलिङ गरे। तर साम्पाङले मानेनन्, उनी प्रश्न सोधिरहे।
लगत्तै श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई पनि उठे। उनले पनि सभामुखसँग बोल्न नदिएको भन्दै आपत्ति जनाइरहेका थिए। ‘हामी बोल्न नपाउने हो?’ उनी सोधिरहेका थिए।
सभामुखको रुलिङ जारी नै थियो। उनले साम्पाङ लगायत श्रम संस्कृति पार्टीका सांसदलाई प्रतिनिधिसभा नियमावलीका विभिन्न दफातर्फ आकर्षित गराइरहेका थिए। तर न हर्क रोकिए, न उनको दलका अरु सांसद।
त्यसपछि श्रम संस्कृतिका अर्का सांसद ध्रुव राई उठे। सभामुखको रुलिङका बाबजुद उनी पनि सभामुखसँगै लड्न कस्सिए। अर्यालले ‘बस्नुस्’ भनेर भन्दै थिए, तलबाट राईले भने, ‘हामी बस्दैनौँ, के गर्नुहुन्छ?’
यो बुधबारको प्रतिनिधिसभा बैठकको दृश्य हो।
यो त आजको दृश्य भयो। हरेक दिनजसो साम्पाङ संसदमा उठिरहन्छन्। भलै नियमावलीविपरीत होला, तर उनी प्रश्नको उत्तर खोजिरहन्छन्। चाहे प्रधानमन्त्री संसदमा जवाफ दिन नआएको बेला होस्, या सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा। सरकारले अध्यादेश ल्याउदा होस्, की प्रधानन्यायाधिश सिफारिस प्रकरणमा। उनले आलोचना र प्रश्न गर्न छोडेका छैनन्।
त्यसअघि सोमबारको प्रतिनिधिसभा बैठकमा साम्पाङ छातीमा पम्लेष्ट टाँसेर उपस्थित भए। पम्प्लेष्टमार्फत उनले सदनमा प्रधानमन्त्री र उनको संसदप्रतिको दायीत्व खोजीरहेका थिए। ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नैपर्छ, प्रश्नदेखि भाग्न पाइदैन, जनमतलाई बन्द गर्, संसद छलेर अध्यादेश ल्याउन बन्द गर्, संसदीय जिम्मेवारी बहन गर्,’ उनको पम्लेष्टमा लेखिएको थियो।
उसो त श्रम संस्कृति पार्टी सदनमा दरिलो प्रतिपक्षको ‘स्पेस’ बनाइरहेको छ। सांसद भलै ६ जना छन्, तर सदनमा भने ३८ सिटे कांग्रेस र २५ सिटे एमाले पनि श्रम संस्कृतिको अगाडि फिक्का फिक्का देखिन्छन्।
साम्पाङ र उनको दलका सांसदहरूले सदनमा दैनिक जनजीविकाका सवाल उठाउँछन्। राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता र स्वाधीनता उनको दलको संसदीय सवालको केन्द्रमा रहन्छ। सुकुमवासी बस्तीमा सरकारले डोजर चलाउँदा श्रम संस्कृति पार्टी विस्थापित नागरिकको पक्षमा दरिलो गरी उभियो। भलै उनीहरूले डोजर रोक्न सकेनन्, तर श्रम संस्कृति पार्टीले गरिब, असहाय र पीडितहरूको पक्षमा काम गर्छ भन्ने सन्देश दिन भने मज्जाले सफल भयो।
भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा प्रयोग गरेर कैलाश मानसरोवरसम्म सडक बनाइरहेको कुरालाई पनि उनले सदनमा जोडतोडका साथ उठाए। प्रधानमन्त्रीसँग जवाफ मागे। महाकाली नदी आसपासका नागरिकलाई आवतजावतमा समस्या भइरहेको भन्दै श्रमदान गरेर पुल बनाउने उद्देश्यसहित दार्चुला पुगेका उनले त्यसका लागि अभियान नै चलाए।
तेल, पेट्रोल, चामल लगायतका दैनिक उपभोग्य वस्तुमा सरकारले मूल्यवृद्धि गर्दा उनको दल सदनमा खरो सुनिन्छ। बाँदर, बँदेल लगायतका जंगली जनावरले गाउँमा आतंक मच्चाएको विषयमा श्रम संस्कृतिले आपत्ति जनाउँछ। किसानले मल नपाएको, सीमाक्षेत्रमा भन्सार बढाएको विषयलाई श्रम संस्कृतिका सांसदहरूले सदनमा जोडतोडका साथ उठाउँछन्।
प्रतिनिधिसभा बैठकमा हरेक दिन सभामुख बस्न भनिरहन्छन्, हर्क उठिरहन्छन्। उठेपछि उनले सभामुखसँग एकछिन सवाल जवाफ गर्छन्। जवाफ चित्त नबुझे उनले संसद बैठक नै बहिष्कार गरिदिन्छन्। बाहिर सञ्चारकर्मीलाई सदन बहिष्कार गर्नुको कारण भन्छन्। यी र यस्तै कारणले नै श्रम संस्कृति पार्टी सदनको दरिलो र खरो प्रतिपक्षका रूपमा उदाइरहेको छ।
