साइबर ब्यूरो सुस्त : सात महिनासम्म भएन उजुरीमा कारबाही
काठमाडौं। जानकी मन्दिरका उत्तराधिकारी छोटे महन्त रामरोशन दास वैष्णवले नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
आइतबार जानकी मन्दिरमै आयोजित पत्रकार सम्मेलनमा उनले करिब सात महिना अघि दिएको उजुरीमा हालसम्म कुनै कारबाही नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
उनका अनुसार २०८२ साल कार्तिक ९ गते साइबर ब्यूरोमा फेक फेसबुक प्रोफाइलबारे उजुरी दर्ता गरिएको थियो । तर लामो समय बितिसक्दा पनि ती फेक प्रोफाइल अझै सक्रिय रहेको र दोषी पहिचान नभएको उनको भनाइ छ ।
महन्त दासले जानकी मन्दिरको नाम र आफ्नै व्यक्तिगत नाम प्रयोग गरेर बनाइएका नक्कली फेसबुक प्रोफाइलमार्फत गलत सामग्री र स्टाटसहरू पोस्ट हुँदै आएको बताए ।
उनले सो विषयमा जिल्ला प्रहरी कार्यालय हुँदै काठमाडौंको साइबर ब्यूरोमा समेत उजुरी दिइएको तर प्रभावकारी कारबाही नभएको गुनासो गरे ।
उनका अनुसार ती फेक प्रोफाइलमार्फत विशेषगरी महिलालाई फ्रेन्ड रिक्वेस्ट पठाउने र मन्दिर तथा आफ्नो व्यक्तिगत छविमा आँच आउने सामग्री पोस्ट गर्ने गरिएको छ ।
यसले धार्मिक संस्थाको गरिमा मात्र नभई श्रद्धालुहरूको भावना समेत प्रभावित भएको उनले बताए । साथै, आफू मानसिक तनावमा परेको उनको भनाइ छ ।
छोटे महन्त दासले सर्वसाधारणलाई यस्ता नक्कली प्रोफाइलबाट आउने फ्रेन्ड रिक्वेस्ट स्वीकार नगर्न, ब्लक गर्न र रिपोर्ट गर्न आग्रह गरेका छन् ।
साथै उनले साइबर ब्यूरोलाई तत्काल नक्कली प्रोफाइल हटाउन र दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
