सुधन गुरुङसँगका तस्वीर भाइरल भएपछि…
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफूविरुद्ध भइरहेको आलोचनाप्रति प्रतिक्रिया दिएकी छन् । उनले आफू सुन्दर देखिएकै आधारमा आलोचना गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।
पूर्वगृहमन्त्री सुधन गुरुङसँग खिचिएका उनका केही तस्बिर पछिल्ला दिनमा सामाजिक सञ्जालमा भाइरल बनेपछि त्यसलाई लिएर विभिन्न प्रतिक्रिया आएका थिए । विद्यालय वा कलेज जीवनको शैली झल्किने ढंगमा खिचिएका ती तस्बिरलाई लिएर केहीले प्रशंसा गरेका छन् भने धेरैले आलोचनात्मक टिप्पणी गरेका छन् ।
यसै विषयमा प्रतिक्रिया दिँदै सांसद भट्टराईले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अरू भ्रष्ट हुँदा केही बोल्न नसक्ने व्यक्तिले मलाई भने केवल सुन्दर देखिएकै आधारमा आलोचना गरिरहेको छ ।’
उनले आफ्नो आलोचना गर्नेहरूलाई लक्षित गर्दै यसलाई ‘पाखण्डीपनको पराकाष्ठा’ समेत भनेकी छन् ।
भट्टराईले अगाडि लेखेकी छन्, ‘अब म आलोचनाको कारण निराश हुने कि, मेरो सुन्दरताले यति धेरै ध्यान तानेकोमा ?’
साथै उनले आफू पनि प्रश्न गर्ने ठाउँबाट राजनीतिमा आएको उल्लेख गर्दै नयाँ पुस्ता परिवर्तनको उद्देश्यसहित राजनीतिमा आएको बताएकी छन् । धेरै नबोल्ने तर चुप पनि नबस्ने धारणा राख्दै उनले सोच र दृष्टिकोण फराकिलो बनाउन आग्रह गरेकी छन् ।
उनको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा थप बहस सुरु भएको छ । केहीले व्यक्तिगत स्वतन्त्रताको पक्षमा समर्थन जनाएका छन् भने केहीले सार्वजनिक पदमा रहेका व्यक्तिहरू सामाजिक सञ्जालमा प्रस्तुत हुँदा थप संयमित हुनुपर्ने टिप्पणी गरेका छन् ।
सुनसरीकी भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी हुन्।
उनको स्टाटस जस्ताको त्यस्तै:
मलाई पछिल्ला दिनहरूमा आएका आलोचनाहरू सुन्दा अनौठो लाग्ने गरेको छ।
अरू भ्रष्ट हुँदा केही बोल्न नसक्ने व्यक्तिले मलाई भने केवल सुन्दर देखिएकै आधारमा – ( उहाँहरूको स्टेटमेन्ट) आलोचना गरिरहेको छ !
पाखण्डीपनको पराकाष्ठा।
अब म आलोचनाको कारण निराश हुने कि, मेरो सुन्दरताले यति धेरै ध्यान तानेकोमा ?
जवाफ दिने ठाउँमा पुगे पनि नबिर्सिनुस्, म पनि त्यही प्रश्न गर्ने ठाउँबाटै आएको हो । सायद तपाईं पनि आउन सक्नुहोला, त्यसैले आफ्ना भूमिका, विचार र सोचलाई फराकिलो पारेर आउनुहोला !
देशमा पछिल्ला वर्षबाट भइरहेको अवस्थाले नै नयाँ पुस्ता राजनीतिमा आएका हौं ।
चुप लागेर बस्ने पुस्तामा पर्दैनौं, त्यसको मतलब धेरै बोलिराख्नेमा पनि पर्दैनौं ।
ल हस्, शुभदिन ।
