बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार गरिएको संघीय बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक शुक्रवार बस्ने भएको छ। दिउँसो २:३० बजे बस्ने बैठकले बजेटलाई अन्तिम स्वीकृति दिने तयारी गरिएको छ।
अर्थ मन्त्रालयका अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तयार पारेको बजेटबारे बैठकमा विस्तृत छलफल र ब्रिफिङ हुने कार्यक्रम छ। छलफलपछि मन्त्रिपरिषद्ले बजेटलाई औपचारिक रूपमा पारित गर्नेछ।
मन्त्रिपरिषद्बाट पारित भएपछि सोही दिन संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरिनेछ। कार्यसूचीअनुसार अर्थमन्त्री वाग्लेले दिउँसो ४ बजे संसद्मा बजेट भाषण गर्नेछन्।
बजेट प्रस्तुत गर्नु अघि मन्त्रिपरिषद् बैठकले यसलाई अन्तिम रूप दिने संवैधानिक प्रक्रिया पूरा गर्नेछ। त्यसपछि अर्थमन्त्रीले संसद्मा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम र खर्च संरचना सार्वजनिक गर्नेछन्।
बजेट संसद्मा प्रस्तुत भएपछि औपचारिक रूपमा टेबुल हुने र त्यसपछि छलफल प्रक्रिया अघि बढ्नेछ।
सरकारले आगामी वर्षका लागि आर्थिक प्राथमिकता, विकास परियोजना, राजस्व संरचना र खर्च व्यवस्थापनलाई समेटेर बजेट तयार गरेको बताइएको छ।
