`

राष्ट्रवादी शक्ति निर्माणमा जुट्न राप्रपा छाड्न लागेका धवलशम्शेरको आग्रह

Nepal One HD १७ जेठ २०८३ १८:१२
राजनीति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशम्शेर राणाले नयाँ राजनीतिक दल गठनको तयारीबीच देशभरका राष्ट्रवादी शक्ति र युवापुस्तालाई नयाँ अभियानमा सहभागी हुन आह्वान गरेका छन्।

सोमबार सार्वजनिक आह्वानमार्फत् राणाले देशमा ‘विश्वसनीय राष्ट्रवादी शक्ति’ निर्माण गर्ने उद्देश्यका साथ आफ्नो आगामी राजनीतिक यात्रा तय गर्ने निर्णय गरेको बताएका छन्।

देशभित्र र विदेशमा रहेका नेपालीहरूबाट प्राप्त सुझाव, सल्लाह र शुभेच्छाका आधारमा नयाँ बाटो रोज्ने निष्कर्षमा पुगेको उनको भनाइ छ।

‘शुभेच्छुक, सहयोद्धा तथा सहयात्रीहरूको राय-सल्लाह बमोजिम देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको छु,’ उनले भने ।

उनले देशलाई माया गर्ने, राष्ट्रिय स्वाभिमानको पक्षमा उभिने तथा नेपालको समृद्धि चाहने सम्पूर्ण राष्ट्रवादी शक्तिलाई नयाँ अभियानमा सहभागी हुन आग्रह गरेका छन्। विशेषगरी युवापुस्तालाई परिवर्तनको अभियानमा जोडिन उनले आह्वान गरेका छन्।

राणाले राप्रपाको पछिल्लो राजनीतिक अवस्थाप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। विगत चार वर्ष पार्टीलाई जनभावनाअनुकूल ढंगले अघि बढाउने प्रयास गरिएको दाबी गर्दै उनले पार्टीभित्रको सैद्धान्तिक द्विविधा र आन्तरिक विरोधाभासका कारण राप्रपा गलत दिशातर्फ गएको आरोप लगाएका छन्।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विगत चार वर्ष जनभावनाअनुकूल अघि बढाउने प्रयास गर्‍यौं। तर, विरोधाभास र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिँड्ने हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भयो,’ राणाको भनाइ छ ।

उनले राप्रपामा आबद्ध नेता-कार्यकर्ताप्रति कुनै कटुता नरहेको उल्लेख गर्दै पार्टीमै रहन चाहनेहरूलाई शुभकामना दिएका छन्। तर, राष्ट्रवादी विचार र मान्यतालाई स्पष्ट लक्ष्य तथा दिशासहित अघि बढाउन चाहनेहरूलाई भने नयाँ अभियानमा एकताबद्ध हुन आग्रह गरेका छन्।

राणाको यो अपिललाई राप्रपाबाट अलग भएर नयाँ दल गठन गर्ने तयारीको औपचारिक संकेतका रूपमा हेरिएको छ।

पछिल्लो समय पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व, कार्यशैली र राजनीतिक रणनीतिप्रति असन्तुष्टि जनाउँदै आएका राणा निकट नेताहरू नयाँ राजनीतिक विकल्प निर्माणको गृहकार्यमा रहेको चर्चा चलिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *