मलेसियाद्वारा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
एजेन्सी।मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै नयाँ कानुनी व्यवस्था लागू गरेको छ।
सोमबारदेखि कार्यान्वयनमा आएको उक्त नियमअनुसार अब १६ वर्षमुनिका बालबालिकाले व्यक्तिगत सामाजिक सञ्जाल खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन्।
नयाँ व्यवस्थाले सामाजिक सञ्जाल कम्पनीहरूलाई प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्ने दायित्व दिएको छ। साथै, १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई खाता दर्ता गर्न नदिने र त्यस्ता खाताहरू पहिचान गरी रोकथाम गर्ने जिम्मेवारी पनि सम्बन्धित कम्पनीहरूकै हुने व्यवस्था गरिएको छ।
यो नियम फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युबलगायत लाखौं प्रयोगकर्ता भएका प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूमा लागू हुनेछ। नियम पालना नगर्ने कम्पनीहरूलाई १ करोड मलेसियन रिंगिटसम्म जरिवाना गर्न सकिने प्रावधान राखिएको छ।
मलेसिया सरकारले बालबालिकालाई अनलाइन माध्यमबाट फैलिने हानिकारक सामग्री, साइबर दुर्व्यवहार, मानसिक दबाब तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट जोगाउने उद्देश्यले यस्तो कदम चालेको जनाएको छ। पछिल्ला वर्षहरूमा डिजिटल माध्यमसँग सम्बन्धित जोखिम बढ्दै गएपछि कडा नियमन आवश्यक भएको सरकारको भनाइ छ।
यद्यपि, बालबालिकाले विभिन्न उपाय अपनाएर नियम छल्दै खाता खोलेको अवस्थामा अभिभावकलाई कुनै कानुनी कारबाही गरिने छैन। सरकारको ध्यान मुख्य रूपमा सामाजिक सञ्जाल कम्पनीहरूलाई उत्तरदायी बनाउनेतर्फ केन्द्रित रहेको बताइएको छ।
मलेसियाको सञ्चार तथा बहुमाध्यम आयोगले यो नीति बालबालिकालाई इन्टरनेटबाट टाढा राख्ने उद्देश्यले नभई उनीहरूका लागि सुरक्षित, जिम्मेवार र उमेरअनुकूल डिजिटल वातावरण निर्माण गर्न ल्याइएको स्पष्ट पारेको छ।
मलेसिया यस्तो कदम चाल्ने विश्वका सीमित देशहरूमध्ये एक बनेको छ। यसअघि अष्ट्रेलिया, ब्राजिल र इन्डोनेसियाले पनि बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियम लागू गरिसकेका छन्। बेलायत, फ्रान्स, स्पेन, डेनमार्क, थाइल्यान्ड र दक्षिण कोरियालगायत देशहरूले पनि यस्तै नीतिगत व्यवस्था लागू गर्ने तयारी गरिरहेका छन्।
डिजिटल युगमा बालबालिकाको सुरक्षा र गोपनीयता विश्वव्यापी चासोको विषय बन्दै गएको अवस्थामा मलेसियाको यो निर्णयलाई सामाजिक सञ्जाल नियमनतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
