`

नेपालमा सेवा विस्तारको तयारीमा स्टारलिंक

Nepal One HD १९ जेठ २०८३ १३:१७
विज्ञान-प्रविधि

काठमाडौं । स्याटेलाइट प्रविधिमा आधारित इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिंकले नेपालमा सेवा विस्तारका लागि सरकारसँग औपचारिक छलफल अघि बढाएको छ।

कम्पनीकी निर्देशक रेबिका हन्टरले सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनासँग भेट गरी नेपालमा सेवा सञ्चालनका लागि भइरहेको तयारीबारे जानकारी गराएकी हुन्।

मन्त्रालयमा भएको भेटवार्ताका क्रममा हन्टरले स्टारलिंक नेपालमा सेवा सञ्चालन गर्न इच्छुक रहेको तर केही नीतिगत तथा कानुनी जटिलताका कारण हालसम्म अनुमति प्राप्त हुन नसकेको बताइन्। उनले कम्पनीको स्वामित्व संरचनासम्बन्धी नीति उल्लेख गर्दै सेवा सञ्चालनका लागि जारी गरिने लाइसेन्समा शतप्रतिशत स्टारलिंककै स्वामित्व हुनुपर्ने कम्पनीको अडान रहेको जानकारी दिइन्।

स्टारलिंकले नेपालमा सम्भावित व्यावसायिक साझेदारी र सहकार्यका विषयमा केही इन्टरनेट सेवा प्रदायक कम्पनीहरूसँग समेत छलफल गरिरहेको जनाएको छ। कम्पनीले विशेषगरी दुर्गम र भौगोलिक रूपमा कठिन पहुँच भएका क्षेत्रमा उच्च गतिको इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य राखेको बताएको छ।

भेटका क्रममा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपालको विद्यमान दूरसञ्चार नीति तथा कानुनी व्यवस्थाअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि कुनै पनि अन्तर्राष्ट्रिय कम्पनीलाई सेवा सञ्चालनमा समस्या नहुने स्पष्ट पारे। उनले कानुनी तथा नियामकीय प्रावधान पूरा गरे सरकारले आवश्यक सहजीकरण गर्न तयार रहेको बताएका छन्।

स्टारलिंक विश्वका विभिन्न देशमा स्याटेलाइटमार्फत उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको कम्पनी हो।

नेपालमा यसको सम्भावित प्रवेशलाई विशेषगरी दुर्गम बस्तीहरूमा इन्टरनेट पहुँच विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

कम्पनीले आवश्यक स्वीकृति प्राप्त गर्ने प्रक्रिया तीव्र बनाएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *