रवि भेटेपछि मोदीले भने – ‘नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन तयार छौँ’
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको जानकारी दिएका छन् ।
भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री मोदीले लामिछानेलाई भेट्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् ।
उनले नेपाल र भारतको साझा तथा समृद्ध भविष्य निर्माणका लागि सहकार्य गर्ने लामिछानेको इच्छाको स्वागत गर्दै आफू पनि त्यसमा पूर्ण रूपमा सहमत रहेको बताएका छन् ।
प्रधानमन्त्री मोदीले भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत नेपाललाई प्राथमिकताप्राप्त साझेदारका रूपमा लिइएको उल्लेख गर्दै दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन भारत तयार रहेको स्पष्ट पारेका छन् ।
उनले नेपाल-भारत सम्बन्धलाई अझ मजबुत बनाउँदै आर्थिक, सामाजिक तथा जनस्तरको सहकार्य विस्तारमा भारत प्रतिबद्ध रहेको पनि बताएका छन् ।

