`

बोर्डको निर्देशन : निजी अस्पतालमा आकस्मिक सेवाबाहेक बीमा सेवा सीमित

Nepal One HD २० जेठ २०८३ १५:००
जीवनशैली/स्वास्थ्य

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्थाहरूलाई बीमा सुविधा अन्तर्गत आकस्मिक सेवामा आवश्यक पर्ने बिरामीको मात्र उपचार सुनिश्चित गर्न निर्देशन दिएको छ ।

बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवनकुमार साहका अनुसार कुनै पनि बिरामीलाई आकस्मिक उपचार आवश्यक देखिएमा मात्र बीमाअन्तर्गत सेवा प्रदान गर्न स्पष्ट निर्देशन दिइएको हो ।

बोर्डले यही जेठ १६ गतेदेखि वित्तीय स्रोत अभावलाई कारण देखाउँदै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी अस्पतालहरूबाट प्रदान गरिने आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा स्थगित गरेको थियो ।

त्यस क्रममा बोर्डले बीमामा अनावश्यक आर्थिक भार पर्ने गरी सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवाका नाममा उपचार नदिन समेत आग्रह गरेको छ ।

साथै सेवाग्राहीलाई पनि सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब नदिन र आवश्यक अवस्थाबाहेक सेवा लिन बाध्य पार्ने प्रयास नगर्न अनुरोध गरिएको छ ।

हाल स्वास्थ्य बीमा बोर्डमा आबद्ध ३६ वटा निजी अस्पतालहरूले बीमितलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *