बालेनलाई थकाउने, गलाउने र माफी मगाउने विपक्षी रणनीति
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई गलाउने र माफी मगाउने रणनीतिमा विपक्षी दलहरू पुगेका छन् । राजीनामाको लागि दबाब दिने पक्षबाट भने उनीहरू हट्ने भएका हुन् ।
हालै संसद्मा बालेनले भारतअनुकूल हुनेगरी नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्दा संसद् र सडकमा विपक्षी दलहरूले विरोध मात्रै जनाएको छैन, संसद् त बारम्बार ठप्प पारेका छन् । यस्तोमा रास्वपा सभापति रवि लामिछानेलाई भने प्रधानमन्त्री बालेनको सोही अभिव्यक्तिले राजकीय सम्मान भएको छ ।
तर, विपक्षी दलहरूले बालेनलाई जसरी पनि गलाउने र संसद्मा आएर माफी मगाउने रणनीतिमा अपनाएका हुन् । स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली भने बालेनलाई देशद्रोही र राष्ट्रघाती भन्दै देशव्यापी आन्दोलन चर्काएर राजीनामा दिन बाध्य पार्न चाहेका थिए ।
अन्य विपक्षी दलहरू माफी मात्रै मगाउने पक्षमा उभिएपछि एमाले पनि राजीनामा दिनेगरी दबाब दिने रणनीतिबाट पछि हटेको छ ।
कांग्रेसले सुरुदेखि नै संसद्मा आएर प्रधानमन्त्रीले माफी मागून् भन्ने रणनीति बनाएको छ । कांग्रेस तत्काल राजीनामाको पक्षमा छैन, तर अभिव्यक्तिलाई गम्भीर कूटनीतिक त्रुटि भन्दै संसदीय दबाब निरन्तर राख्ने रणनीति अपनाएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि तत्काल राजीनामाभन्दा माफी माग्नेलाई नै प्राथमिकता दिएको छ । नेकपाले प्रधानमन्त्रीबाट गल्ती स्वीकार गराउने र भविष्यमा यस्ता अभिव्यक्ति नदोहोर्याउने प्रतिबद्धता खोज्ने नीति लिएको देखिन्छ ।
त्यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भने यसअघि नै प्रधानमन्त्रीको राजीनामा मागेका छन् । यो दल पनि सडक आन्दोलन गरेर प्रधानमन्त्री बालेनलाई थकाउने रणनीतिमा छ । सदनमा विरोध जारी राखेको छ ।
