ग्रीस र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने लक्ष्मी र प्रिया पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै ग्रीस र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-३ बस्ने ३१ वर्षीया लक्ष्मी थापा कार्की र बुढानिलकण्ठ नगरपालिका–८ बस्ने ३५ वर्षीया प्रिया बानिया रहेका छन्।
प्रहरीका अनुसार लक्ष्मी थापा कार्कीले ग्रीस पठाइदिन्छु भन्दै एक जना पीडितबाट ११ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएकी थिइन्। त्यस्तै प्रिया बानियाले जापान पठाइदिन्छु भन्दै एक जना पीडितबाट २ लाख रुपैयाँ लिई ठगी गरेको उजुरी परेको थियो।
उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले लक्ष्मीलाई काठमाडौं महानगरपालिका-३ बाट र प्रियालाई बुढानिलकण्ठबाट पक्राउ गरेको हो।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
