सूचना टाँसेर प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक विपक्षी दलहरूको अवरोधका कारण सूचना टाँसेर मंगलबारसम्मका लागि स्थगित गरिएको छ।
बैठकमा निरन्तर अवरोध भएपछि सभामुख डोलप्रसाद अर्यालले प्रारम्भमा १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। तर, निर्धारित समयपछि पनि दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक सञ्चालन हुन सकेन र सूचना टाँसेर अर्को दिनसम्मका लागि स्थगित गरिएको हो।
२०८२ फागुन २१ गते सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान प्रतिनिधिसभामा पहिलो पटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो।
प्रधानमन्त्री बालेन शाहले सार्वजनिक रूपमा दिएको ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन्। उनीहरूले उक्त अभिव्यक्तिको प्रमाण पेस गर्न वा संसद्को रेकर्डबाट हटाउन माग गर्दै सदन अवरुद्ध गरेका हुन्।
यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले आवश्यक स्पष्टीकरण दिइसकेको र आवश्यक परे परराष्ट्र मन्त्रीले थप स्पष्ट पार्न सक्ने जनाएको छ। तर विपक्षी दलहरूले आफ्नो अडान कायम राखेपछि प्रतिनिधिसभा बैठक सञ्चालन हुन सकेन।
