रास्वपाको प्रदेश अधिवेशन आजबाट, बागमतीको उद्घाटन गर्दै रवि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वडा, पालिका र अधिकांश जिल्लाका अधिवेशन सम्पन्न गरेपछि आजदेखि प्रदेशस्तरीय अधिवेशन सुरु गर्ने भएको छ। पहिलो चरणमा बागमती प्रदेश अधिवेशनको उद्घाटन हेटौंडामा गरिने कार्यक्रम तय गरिएको छ।
हेटौंडास्थित हिमालयन दरबारमा हुने अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम रहेको छ। बागमती प्रदेशबाट सुरु हुने अधिवेशन क्रमशः अन्य प्रदेशमा पनि विस्तार गरिने पार्टीले जनाएको छ।
बागमती प्रदेशको नेतृत्वका लागि सभापति पदमा प्रतिस्पर्धा हुने संकेत देखिएको छ। हालका प्रदेश सभापति डा. अच्युत्तम लामिछाने पुनः सोही पदमा दोहोरिने तयारीमा छन् भने प्रदेश प्रवक्ता उत्सव अर्याल पनि सभापतिको दाबेदारका रूपमा देखिएका छन्। पार्टी स्रोतका अनुसार दुवै पक्षले प्यानलसहित निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।
उपसभापति पदका लागि डा. रमेश ढकाल र मेनुका ठकुरी आकांक्षी देखिएका छन्। यस्तै, वर्तमान महामन्त्री सुरेन्द्र भट्टले पुनः सोही पदमा निरन्तरता चाहेको बताएका छन्।
रास्वपाको विधानअनुसार प्रदेश समितिको आकार प्रदेशअनुसार फरक–फरक हुने व्यवस्था छ। बागमती प्रदेश समिति ६५ सदस्यीय हुनेछ। समितिमा एक–एक जना सभापति, उपसभापति र महामन्त्री रहनेछन् भने दुई जना सहमहामन्त्री अनिवार्य रूपमा फरक–फरक लिङ्गका हुनुपर्ने प्रावधान रहेको छ। साथै कोषाध्यक्ष र प्रवक्ता सहित पदाधिकारी टोली गठन गरिनेछ।
निर्वाचन हुने अवस्थामा नयाँ नेतृत्व चयन दुई चरणमा गरिने व्यवस्था गरिएको छ। पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ। त्यसपछि निर्वाचित प्रदेश सदस्यहरूमध्येबाट अन्य पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान गरिनेछ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन भने असार ६ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने तय भएको छ।
